बलात्कारको आरोप लागेका उपमेयर एक लाख धरौटीमा रिहा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बलात्कारको आरोप लागेका उपमेयर एक लाख धरौटीमा रिहा


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप मुद्दामा सिराहा लहान नगरपालिकाका उपमेयर रामचलितर महतो एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन्। 

सिराहा जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले आइतबार भएको थुनछेक बहसको क्रममा उपमेयर महतोलाई एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको हो। 

उपमेयर महतोविरुद्ध बलात्कार प्रयाससम्बन्धी मुद्दाको अन्तिम फैसला नभएको अवस्थामा निर्दोष प्रमाणित नभई धरौटी राखेर तारेखमा रिहा भएको सिराहा जिल्ला अदालतले जनाएको छ । बलात्कार प्रयासविरुद्धको मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेपछि सम्पर्कविहीन भएको ५१औँ दिन गत २४ भदौमा स्वयं लहान प्रहरीमा हाजिर भएका उपमेयर महतो १७औँ दिन आइतबार धरौटी राखेर तारेखमा रिहा भएका हुन्।  

गत १९ जेठमा आफ्नै कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको आरोप लगाउँदै लहानकी २१ वर्षीया महिलाले लहान प्रहरीमा दिएको किटानी जाहेरी गत ४ साउनमा दर्ता गरी प्रहरीले अनुसन्धान थालेपछि उपमेयर महतो सम्पर्कविहीन भएका थिए। प्रहरीमा हाजिर भएपछि महतोलाई प्रहरीले थप अनुसन्धान गरी मुद्दासम्बन्धी थप प्रमाण, मिसिलसहित जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेपछि अदालतमा मुद्दा दायर भएको थियो। 

प्रहरीमा हाजिर हुनुअघि उपमेयर महतोले बलात्कार प्रयास भएको भन्दै प्रहरीमा जाहेरी परेको समयमा आफू स्वास्थ्य परीक्षण र तीर्थयात्रा गर्न भारतमा रहेको दाबी गरेका थिए। स्वास्थ्य परीक्षण र तीर्थयात्रा गरेर भारतबाट फर्किएर प्रहरीमा जाहेरी परेको थाहा पाएपछि अनुसन्धानलाई सघाउन स्वयं प्रहरीमा आएको बताएका थिए। लहानजस्तो ठूलो नगरपालिकामा दिनहुँ सेवाग्राहीको भिडभाड रहने भएकाले कार्यकक्षको गोप्य कोठामा बलात्कार प्रयास गरेको भन्ने आरोप झुठो रहेको र आफूलाई फसाउने षड्यन्त्र रहेको उनको दाबी थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस