खानेपानीको पाइप चोरी आरोपमा जनप्रतिनिधि पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खानेपानीको पाइप चोरी आरोपमा जनप्रतिनिधि पक्राउ


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । कास्कीको मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा एक  जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका-१ का वडासदस्य ३४ वर्षीय खरजंग गुरुङ पनि छन् ।

उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यरातमा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । चोरी गरिएको पाइप करिब १४ लाख रुपैयाँ बराबर भएको अनुमान छ ।

मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङका अनुसार यसअघि पनि उक्त आयोजनाबाट पाइप चोरी हुँदै आएको थियो ।

मादीका निवर्तमान गाउँपालिका अध्यक्ष गुरुङका अनुसार कास्कीका साबिक पूर्वी ३ वटा गाविसमा खानेपानी सुविधा पुर्‍याउन २०४७र०४८ सालमा आयोजना सुरु गरिएको थियो ।

हाल उक्त खानेपानी आयोजनाबाट मादी गाउँपालिका र रुपा गाउँपालिकाका बासिन्दाले खानेपानी सुविधा लिएका छन् । तर, जनसङ्ख्या वृद्धि हुँदै गएपछि खानेपानी पाइपले माग धान्न नसकेपछि पुनर्निर्माण थालिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस