रुस र युक्रेनबीच सहमति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रुस र युक्रेनबीच सहमति


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । साउदी अरबको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा सहमति भएको छ । एएफपी समाचार एजेन्सीको रिपोर्टमा रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानबीच फोनमा कुराकानी भएको र राष्ट्रपति पुटिनले सम्झौताप्रति सन्तुष्टि व्यक्त गरेको बताएको हो ।

‘बिहीबार अबेर राति भएको यस फोन वार्तामा दुवै नेताले युद्धबन्दी बनाइएका विदेशी नागरिकलाई साउदी अरेबियामा हस्तान्तरण गर्ने कार्यमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । साउदी युवराजको निजी मध्यस्थताका कारण यो सम्झौता सम्भव भएको हो।’ क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

युद्धबन्दी आदानप्रदान सम्झौताको एक भागको रूपमा युक्रेनलाई मारिउपोलमा अजोभस्टल स्टिलवर्क प्लान्टको रक्षा गर्दा रुसविरुद्ध लडेका सैनिकहरूसहित २१५ युद्धबन्दीहरूलाई हस्तान्तरण गरेको छ। यी युद्धबन्दीमा बेलायत, अमेरिकीसहित १० विदेशी नागरिक पनि छन् । यी मानिसहरूलाई साउदी अरबको जिम्मा लगाइएको छ।

बदलामा युक्रेनी पूर्व सांसद भिक्टर मेदवेदचुकसहित ५५ कैदीलाई रुसलाई सुम्पिएको छ । भिक्टर मेदवेदचुक पुटिनको नजिक मानिन्छन् र युक्रेनमा उनीमाथि देशद्रोहको आरोप छ।

Tags :
प्रतिक्रिया दिनुहोस