राष्ट्रपतिको कदमविरुद्ध जसपाले गर्‍यो आन्दोलनको घोषणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिको कदमविरुद्ध जसपाले गर्‍यो आन्दोलनको घोषणा


७ आश्विन २०७९, शुक्रबार


जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य सचिव दिनेश यादवले जानकारी दिए ।

उनका अनुसार असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने छ । असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक पारित गरि पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले वर्तमान संवैधानिक व्यवस्थामाथि धावा बोलेको जसपाको निष्कर्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस