१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्‍यौँ : मन्त्री पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्‍यौँ : मन्त्री पौडेल


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलवार पत्रकार सम्मेलनमार्फत शिक्षाको सोचपत्र २०७९ को सार्वजनिक गर्दै मन्त्रालयले १३ हजारभन्दा बढी सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको निर्माण भएको बताएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले करिव २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको जानकारी दिए । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, पुनर्निर्माण प्राधिकरण, स्थानीय र प्रदेश सरकार, भारतीय दूतावास र विभिन्न दातृ निकायहरूबाट गरी विद्यालयको पूर्वाधार निर्माण भएको स्पष्ट पारे । उनले बाँकी विद्यालयहरूको पूर्वाधार निर्माण ३ वर्ष भित्रमा गरिसक्ने लक्ष्य लिइएको बताए । मन्त्री पौडेलले बाँकी रहेका विद्यालयहरूमा के-के पूर्वाधारहरूको आवश्यक रहेको छ भन्नका लागि नक्सांकन सुरु गरिएको बताए ।  

उनले विद्यालय शिक्षा सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक, राष्ट्रिय योग्यता प्रारूप सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा सम्बन्धी विधेयकहरूको मस्यौदा तयार भई सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको पनि बताए । त्यस्तै शिक्षक सेवा आयोग नियमावलीको ११ औँ संशोधन लगायतका अन्य नीतिगत तथा कानूनी सुधारका काम पनि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शिक्षक बढुवा र खुला पदपूर्तिको विज्ञापन गरी परीक्षा सञ्चालन भएको तथा बढुवाको नतिजा प्रकाशन भई सिफारिस समेत भइसकेको जनाएको छ । त्यसैगरी पढ्दै कमाउँदै कार्यक्रम १४० विद्यालयमा सञ्चालनमा आएको बताएको छ । मन्त्रालयले ७७ वटै जिल्लाका कक्षा ५ सम्मका कुल ३२ लाख ४० हजार ६८८ जना बालबालिकाहरूलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उल्लेख गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस