जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो ।

गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप गरेको थियो । यसपालि पनि त्यो हुन सक्ने सूचनापछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने जबराले प्रयास गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जबराले भने सर्वोच्च फर्किने सूचना पठाएका थिए । सर्वोच्च प्रशासनलाई सूचना पठाएर जबराले आफू विरुद्धको महाभियोग निष्क्रिय भएको भनेका थिए ।

सर्वोच्चका न्यायाधीश, नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले जबराको निलम्बित अवस्थामा नै न्यायालयको नेतृत्व सम्हाल्ने भनाइको विरोध गरिरहेका छन् । जबरालाई भने सरकारले सुरक्षाकर्मी परिचालन गरेर बालुवाटारस्थित निवासबाट बाहिर निस्किन दिएको थिएन । सर्वोच्चमा पनि कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस