२ प्रतिशत ब्याजदरमा डेढ लाखले पाए साढे २ खर्ब ऋण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

२ प्रतिशत ब्याजदरमा डेढ लाखले पाए साढे २ खर्ब ऋण


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । सरकारले २ प्रतिशत ब्याजदरमा साढे २ खर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र थपेर ऋण प्रवाह गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैङ्कले गरेको थियो ।

एक लाख ४७ हजार २३ जनाले सरकारले दिएको सस्तो ब्याजदरको ऋण लगेका छन् । यस्तो ऋणको अवधि बढीमा पाँच वर्ष हुनेछ । सरकारले ब्याजका लागि मात्र १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ बैङ्क तथा वित्तीय संस्थालाई दिएको छ ।

अर्थ मन्त्रालयले २०७५ सालदेखि राष्ट्र बैंकमार्फत सो ऋण दिन थालेको हो । २०७९ को साउनसम्म २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार रुपैयाँ ऋण स्वीकृत भएको राष्ट्र बैङ्कले जनाएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैङ्क तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थालेका छन् । सरकारले तोकेको सात शीर्षकअनुसार अनुकूल हुने गरी कर्जा दिने व्यवस्था राष्ट्र बैङ्कले गरेको थियो ।

यस्तै सरकारले सस्तो ब्याजदरमा उपलब्ध गराएको कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाको नाममा स्वीकृत भएको छ । यसका लागि एक खर्ब ६३ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ कर्जा स्वीकृत भएको केन्द्रीय बैङ्कले जनाएको छ । यो कर्जा ५९ हजार ८७९ जनाले लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस