पर्यटन बोर्डको बजेट बैठकमा कर्मचारीहरूले गरे नाराबाजी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्यटन बोर्डको बजेट बैठकमा कर्मचारीहरूले गरे नाराबाजी


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । चालु वर्ष ७ लाख पर्यटक नेपाल आउने हचुवा प्रक्षेपण गरेर बजेट नल्याउन भन्दै पर्यटन बोर्डका कर्मचारीहरूले आइतबार सञ्चालक समितिको बैठकमा पसेर नाराबाजी गरेका छन् । बोर्डका एक सदस्यका अनुसार कर्मचारीहरूले नजिकिँदै गरेको चुनावमा केही दलका नेताहरूलाई रिझाउन बजेट ल्याइएको आरोप लगाउँदै बोर्ड बैठकमै नाराबाजी गरेका थिए ।

५५ जना कर्मचारीमध्ये ४० जनाले हस्ताक्षरसहित बोर्डको बैठकको अध्यक्षता गरिरहेका पर्यटन सचिव सुरेश अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । बोर्डका उपाध्यक्ष चन्द्र रिजालले चालु वर्षको बजेट सैद्धान्तिक रूपमा पारित भएको केही विषय मिलाउन मात्रै बाँकी रहेको बताए ।

उनका अनुसार १ अर्ब १७ करोड रुपैयाँ आयव्ययसहितको बजेट बोर्डमा प्रस्तुत गरिएको थियो ।

बोर्डका अधिकृतहरूले भने यसपटकको बजेटमा बोर्ड सदस्य, सीइओ लगायतले आ–आफ्नो जिल्लामा बजेट केन्द्रित गरेकाले कानुनी रूपमा त्रुटि रहेको कान्तिपुरलाई बताएका छन् । 

बोर्डका एक प्रबन्धकका अनुसार सञ्चालक समितिले गठन गरेको बजेट उपसमितिले चालु वर्ष पर्यटकको संख्या ७ लाख पुग्ने अनुमानका आधारमा १ अर्ब १७ करोड रुपैयाँ आयव्यय प्रक्षेपणसहितको नीति तथा कार्यक्रम मस्यौदा आइतबारको बोर्ड बैठकमा पेस गरेका थिए ।

कर्मचारीले सञ्चालक समितिलाई चालु वर्षको बजेटले कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेकाले त्यसकै आधारमा बोर्डका कर्मचारीहरूको पनि तलब समायोजन गर्न माग गरेका थिए । उनीहरूलाई अध्यक्ष अधिकारीले ५ हजार रुपैयाँसम्म तलब वृद्धि गरिदिने आश्वासन दिएका थिए । चुनावको आचारसंहिता लागू हुने भएकले पर्यटन बोर्डले शुक्रबार बजेट पारित गर्न बैठक डाकेको थियो । बजेट मस्यौदा सञ्चालक समितिको बैठकमा पेस हुनुअघि नै बाहिरिएको जनाउँदै बोर्ड सदस्यहरूले आपत्ति जनाएपछि शनिबार केही सञ्चालक समितिका सदस्य र सीइओ धनञ्जय रेग्मीले अनौपचारिक बैठक गरेर आइतबार बोर्डमा बजेट पेस गरेका थिए ।

बोर्डले चालु वर्ष नेपालमा ७ लाख पर्यटक आउने प्रक्षेपण गर्दै त्यसबाट प्रति पर्यटक १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्क ७३ करोड सङ्कलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै ती पर्यटक पदयात्रा जाँदा थप ९ करोड ५८ लाख उठाउने मस्यौदामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस