जलवायु परिवर्तन सूचकहरूलाई वर्गीकरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जलवायु परिवर्तन सूचकहरूलाई वर्गीकरण


२ आश्विन २०७९, आइतबार


काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जलवायु परिवर्तनसम्बन्धी सूचकहरूको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा जलवायु परिवर्तन सूचकहरूलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको छ । विभागले आइतबार सार्वजनिक गरेको यससम्बन्धी प्रतिवेदनमा हरितगृह ग्याँसका स्रोत तथा कारकहरू, जलवायु अतिशय घटनाहरू तथा जलवायुजन्य विपद्हरू, जलवायु अतिशय घटनाहरू तथा जलवायु जन्य विपद्हरूबाट सिर्जित क्षति तथा प्रभाव, सम्मुखता, संवेदनशीलता, अनुकूलन क्षमता तथा न्यूनीकरण क्षमता उल्लेख छन् ।

प्रतिवेदनमा २६० वटा जलवायुसँग सम्बन्धित सूचकहरू समेटिएको भएता पनि हाल १५० वटा सूचकहरूको तथ्याङ्क मात्र उपलब्ध रहेका छन् भने बाँकी सूचकहरूको तथ्याङ्क सम्बन्धित मन्त्रालय तथा विभागहरूबाट सङ्कलन गरी आगामी प्रतिवेदनहरूमा उपलब्ध गराइने विभागले जनाएको छ । यो प्रतिवेदनले पेरिस सम्झौताअनुरूप जानकारीहरू नियमित गर्न राष्ट्रिय संयन्त्रहरूलाई परिष्कृत गर्नेछ भन्ने विश्वास लिइएको विभागको वातावरण तथ्याङ्क शाखाका निर्देशक सुशीलकुमार शर्माले जानकारी दिए । यो प्रतिवेदन केन्द्रीय तथ्याङ्क विभाग तथा अक्सफोर्ड पोलिसी म्यानेजमेन्टको प्राविधिक तथा आर्थिक सहयोगमा तयार पारिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय तथ्याङ्क महाशाखाद्वारा तयार पारिएको जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क तथा सूचकहरूको विश्वव्यापी सङ्ग्रहलाई अनुसरण गरेर राष्ट्रियरूपमा सान्दर्भिक जलवायु परिवर्तनका सूचकहरूको सङ्ग्रहलाई परिभाषित गरिएको हो । यो प्रतिवेदनले नेपाल सरकारलाई जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क र सूचनाहरू सङ्कलन गर्न र संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धि (युएनएफसिसिसी) सचिवालयमा प्रतिवेदन पेस गर्न सहयोग हुने अपेक्षा गरिएको छ ।

नेपालले सन् २०१५ मा पेरिस सम्झौता अनुमोदन गरेको छ । पेरिस सम्झौताको अनुमोदनसँगै नेपालले न्यून कार्बन उत्सर्जन र जलवायु परिवर्तन समयानुकूलित विकासका कार्यहरू कार्यान्वयन गर्न आफ्ना जलवायु परिवर्तनसम्बन्धी महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिअन्तर्गत पक्ष राष्ट्रहरूको २६औँ सम्मेलनमा सन् २०४५ सम्ममा कार्बन तटस्थ राष्ट्रको लक्ष्य प्राप्ति गर्ने, २०३० सम्ममा वन फडानीको अन्त्य गर्ने र सन् २०३० सम्ममा जलवायु सङ्कटासन्नता कम गर्ने ऐतिहासिक घोषणा गरेको थियो ।

नेपालको जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्कसहितका सूचकहरू सङ्कलनका लागि यो प्रतिवेदन पहिलो प्रयास भएको उनले बताए । जुन पेरिस सम्झौता तथा जलवायुसँग सम्बन्धित दिगो विकास लक्ष्यका सूचकहरूको पनि मुख्य आधारहरू हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस