जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सरकारले दियो प्रहरीलाई निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सरकारले दियो प्रहरीलाई निर्देशन


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनायो ।

सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । बाहिर निस्कन प्रतिकूल अवस्था रहेको भन्दै जबरालाई अदालत नजान भनिएको एक उच्च प्रहरी अधिकारीले बताए ।

जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सर्वोच्च परिसरमा कार्यालय समयअघि नै जनशक्ति परिचालन गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ (शनिबार) जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।

तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालतमा भेला भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस