संविधान दिवसको अवसरमा एमालेको पदयात्रा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संविधान दिवसको अवसरमा एमालेको पदयात्रा


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा आज उपत्यकामा वाकथन(पदयात्रा) गरेर मनाएको छ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको हो।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकथन’ कार्यक्रम गरेको हो । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीलले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका छन्। यसैगरी लैनचौरबाट पदयात्राको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्व गरेका छन् । पाँचै स्थानबाट सुरु हुने पदयात्रा शहीदगेटमा एकै ठाउँ जम्मा भएर बसन्तपुर पुग्ने कार्यतालिका छ ।

पदयात्रा टोली बसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेले संविधानप्रति आम नागरिकको अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिएको जनाएको छ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गतेसम्म प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले पदयात्रा असोज १ गतेलाई तय गरेको हो। पदयात्रामार्फत एमालेले संविधानको अपनत्व र निर्वाचनको दौडमा होमिएको सन्देश प्रवाह गर्न खोजेको छ। संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान-२०७२’जारी भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस