फिजिकल सिमकार्ड बिनै चल्ने ई-सिम वितरण गर्दै टेलिकम  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फिजिकल सिमकार्ड बिनै चल्ने ई-सिम वितरण गर्दै टेलिकम 


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने निर्णय गरेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको हो । 

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

उनका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । सिम टेलिकमको सुन्धारा कार्यालयबाट वितरण गरिनेछ ।

ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।  ई-सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ । 

हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्ने बताउँदै अधिकारीले नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई-सिम लिन सक्ने जानकारी दिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस