अदालतको आदेशपछि हट्यो जोरसिमलको सशस्त्र प्रहरी चेकपोस्ट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अदालतको आदेशपछि हट्यो जोरसिमलको सशस्त्र प्रहरी चेकपोस्ट


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-७ जोरसिमल खण्डबाट सशस्त्र प्रहरी बलको चेकपोस्ट हटेको छ । ११ वर्षअघि स्थापना भएको चेकपोस्ट उच्च अदालत विराटनगरको इलाम इजलासको आदेशबाट हटेको हो ।

काँकडभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोस्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दिएका थिए । २४ साउनमा दुवै पक्षलाई बोलाएर छलफल गरेको उच्च अदालतको न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश लोहित चन्द्र शाहको संयुक्त इजलासले चेकपोस्ट हराउन अन्तरिम आदेश दिएको हो ।

‘जोर सिमल भन्ने स्थानमा राखिएको चेक प्वाइन्ट हटाउन लगाउनु भन्नेसमेतको माग गरेको सन्दर्भमा रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाको बखत सम्बोधन हुने नै हुँदा हाललाई कानुन बमोजिम सर्वसाधारणलाई जाँचका नाउमा दुःख, हैरानी हुने कार्य नगर्नू नगराउनु, निर्बाध रूपमा सार्वजनिक सार्वजनिक आवागमन गर्न दिनू’ उच्च अदालतको आदेशमा भनिएको छ ।

सुरक्षा जोखिम बढेपछि जोरसिमल क्षेत्रमा २०६८ साल जेठ २६ गते जिल्ला सुरक्षा समितिले चेकपोस्ट राख्ने निर्णय गरेको थियो । चेकपोस्टका लागि २०७४ सालमा स्थानीयले दुई कोठे भवन बनाइदिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट काँकडभिट्टा अन्तर्गत रहेको चेकपोस्टबाट सशस्त्र प्रहरी बलले २०७५-०७६ मा एक करोेड ५ लाख ८० हजार, २०७६-७७ सालमा २ करोड २ लाख २८ हजार र २०७७-७८ मा ५१ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो ।

सशस्त्र प्रहरी बलले गत जेठ २२ गते चोरबाटोबाट रक्त चन्दनको बिरुवा र आलु लिएर आएका तीनवटा भारतीय मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो । लालीगुराँस फर्मले प्रज्ञापन पत्र नक्कली बनाएर कर आयात गरेको भेटिएपछि सशस्त्रले डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको थियो ।

गत असार ३२ गते होटेल मेची क्राउनमा क्यासिनो खेल्न आउँदै गरेका पाँच भारतीय नागरिक पाँच लाख २१ हजारसहित पक्राउ परेका थिए । जोरसिमल चेकपोस्ट नजिकै मेची क्राउन होटेल छ । सो होटेलमा क्यासिनो सञ्चालन हुन्छ ।

भारतबाट क्यासिनो खेल्नका लागि मानिसहरू आउँछन् । गत असार ३२ गते क्यासिनो खेल्नका लागि एउटै गाडीमा आएका पाँच जनाको साथबाट पाँच सय र २ हजार दरका ५ लाख २१ हजार रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको एक महिनापछि अदालतमा रिट परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस