नवौँ राष्ट्रिय खेलकुदको क्रिकेटमा पुलिस र आर्मीले फाइनल खेल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवौँ राष्ट्रिय खेलकुदको क्रिकेटमा पुलिस र आर्मीले फाइनल खेल्ने


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ ।  नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौँमा भइरहेको पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

बिहीबारको दोस्रो सेमिफाइनलमा पुलिसले एनआरएनए एकेडेमीलाई १३ रनले पराजित गर्दै आर्मीसँग उपाधि भेट पक्का गरेको हो । आर्मी र सुदूरपश्चिम बीचको पहिलो सेमिफाइनल मैदानमा पानी जमेकाले हुन नसकेपछि समूह ए मा विजेता बनेको आधारमा आर्मी फाइनलमा पुगेको हो ।

समूह चरणमा आर्मीले पुलिसलाई पराजित गरेको थियो । दोस्रो सेमिफाइनल ८-८ ओभरमा खेलाइएको थियो । जहाँ पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर ११० रन बनायो । जवाफमा एनआरएनएले ३ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।

कप्तान सुनाम गौतम र सागर पुनले दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे पनि जिताउन सकेनन् । सुनामले ४६ र सागरले ३७ रन बनाए ।

पुलिसका योगेन्द्रसिंह कार्कीले २ र पवन सर्राफले १ विकेट लिए ।

त्यसअघि पुलिसका लागि ब्याटिङमा आरिफ शेखले सर्वाधिक ३६ र कप्तान दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए । करण केसीले ८ बलमा १८ रन जोडे । गुल्शन झाले २ बलमा अविजित ७ रन बनाए ।

एनआरएनएका दिवस गिरीले २ तथा दीपक क्षेत्री, सुनाम गौतम र दिनेश खरेलले १(१ विकेट लिए । अब पुलिस र आर्मीबीच शुक्रबार दिउँसो फाइनल खेल हुनेछ । त्यसअघि सुदूरपश्चिम र एनआरएनएबीच तेस्रो स्थानका लागि खेल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस