काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ ।
महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।
सडक विभागका प्रमुख अर्जुनजंङ थापाले विभागको समन्वयमा महानगरले घर टहरा भत्काएपछि आफूहरूलाई ६ लेन सडक निर्माणको बाटो खुलेको बताए । सो क्षेत्रमा सडक विस्तारको काम सुरु भइसकेको उनले बताए ।
कोटेश्वर-जडिबुटी क्षेत्र काठमाडौँको कलङ्कीपछिको अत्यधिक सवारी चाप र जाम हुने क्षेत्र हो । यो क्षेत्रको जाम घटाउन अनेकौँ प्रयासहरू हुँदै आए पनि अहिलेसम्म सवारी चाप कम हुन सकेको छैन ।
विभागका अनुसार २०६१ सालमा जापानिज कम्पनी जाइकाको सहयोगमा माइतीघर-सूर्यविनायक सडक विस्तार अन्तर्गत ६ लेन सडक विस्तार सुरु गरिएको थियो ।
कच्ची घरधनी माइली खत्रीले मुआब्जा नपाएको भन्दै सर्वोच्च अदालनमा मुद्दा दायर गरेकी थिइन् । २०७१ फागुन १९ गते सर्वोच्च अदालतले जग्गाको मुआब्जा पाइसकेको र घर जग्गा सरकारको स्वामित्वमा रहेको फैसला गरेको थियो ।
न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले मुआब्जा तथा उचित क्षतिपूर्ति दिइसकेको अवस्थामा सडक बिस्तारको काम रोक्न नमिल्ने फैसला सुनाएको थियो ।
घर भएको ठाउँको २.४ मिटर जग्गा मात्रै घरधनीको दाबीमा रहेको विभागका प्रमुख थापाले जानकारी दिए ।
तर, सो क्षेत्रमा घर जग्गाको मुआब्जा विवादका कारण लामो समयदेखि ६ लेन सडक विस्तार हुन सकेको थिएन । ६ लेन सडक विस्तार भइसकेपछि सवारी आवागमनमा केही सहजीकरण हुने विभागले जनाएको छ । ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरूलाई आएको निर्देशन अनुसार घर–टहरा भत्काएको बताए ।
पछिल्लो समय महानगरले सरकारी जग्गा अतिक्रमण गरेर अवैध रूपमा सञ्चालन गरेका घर टहरामा डोजर चलाउँदै आएको छ । कोटेश्वर, जडीबुटी, तीनकुने, सुनधारा, न्युरोड, दरबारमार्ग, नयाँ बसपार्क, गोंगबु, वनस्थली, माछापोखरी, पशुपति गौशाला क्षेत्रका अवैध संरचना हटाएको छ ।
पार्किङ प्रयोजन देखाएर अण्डरग्राउण्ड क्षेत्रमा व्यापारिक पसल राख्दा सो क्षेत्रमा पनि महानगरको डोजर चलेको छ । हाल ५० भन्दा बढी ठाउँको अण्डरग्राउण्ड खाली गरेको नगरप्रहरी प्रमुख पाण्डेले बताए ।







