लाइसेन्स परीक्षाको नयाँ मापदण्ड : असोज १ गतेदेखि लागु हुने, ७० अंक ल्याए पास  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड : असोज १ गतेदेखि लागु हुने, ७० अंक ल्याए पास 


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नयाँ मापदण्ड असोज १ गतेदेखि लागु हुने भएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका चारवटा यातायात कार्यालयमा नयाँ मापदण्ड लागु गर्न लागेको हो । 

मापदण्डअनुसार सवारी चालकहरूले प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुनेछन् । यसअघि ट्रायल परीक्षामा १०० अंक ल्याउनै पर्ने प्रावधान थियो । 

वाग्मती प्रदेश श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले पटक-पटक ट्रायल परीक्षामा फेल भई बिचौलियाको मारमा पर्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागिएको बताए । 

वाग्मती प्रदेशअन्तर्गत काठमाडौँका चार (एकान्तकुना, ठुलो भर्‍याङ, चाबहिल, भक्तपुर)  र हेटौँडाको एउटा यातायात कार्यालयबाट सो प्रावधान लागु हुनेछ । जुन प्रावधानले गर्दा नयाँ सवारी चालकहरूले सजिलै लाइसेन्स निकाल्न सक्नेछन् । 

यातायात व्यवस्था विभागले ०७७ साल तयार पारेको ७० अंक ल्याए पास हुने निर्देशिका गतवर्ष वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयमा पठाएको थियो । 

निर्देशिकाबमोजिम लिखित परीक्षामा ८० अंक ल्याए पास भई लाइसेन्स लिन पाउने व्यवस्था गरिएको छ । आन्तरिक विवाद र बिचौलियाको दबाबले निर्देशिका अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन ।  सवारी चालकहरूले प्रत्यक्ष सास्ती खेप्दै आएका थिए । 

पहिले नै कार्यान्वयनमा ल्याउनुपर्ने मापदण्ड अहिलेसम्म कार्यान्वयनमा नल्याइएको भन्दै विभाग प्रदेशसँग असन्तुष्ट छ । मन्त्रालयले नयाँ मापदण्ड लागु भइसकेपछि यातायात कार्यालयबाट हुने सेवा सुविधाहरू प्रविधिमैत्री बनाउँदै लैजाने योजना रहेको बताएको छ । 

सरकारले ०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मा ट्रायल परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था ल्याएको थियो । सो निर्देशिका कार्यान्वयनमा नआउँदै विभागले खारेज गरेको थियो । 

चालकले प्रयोगात्मक परीक्षा दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्नेछ । 

यातायात व्यवस्था विभागले १ वर्ष पहिले नै लागु हुने भन्दै नयाँ परीक्षा मापदण्ड वेबसाइटमा राखेको थियो । मापदण्ड निर्देशिकाअनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको परीक्षा मापदण्ड खुकुलो बनाइएको छ ।

नयाँ मापदण्ड !

Tags :
प्रतिक्रिया दिनुहोस