भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द


२८ भाद्र २०७९, मंगलबार


बलेवा । बागलुङको गलकोट नगरपालिका-११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिइन् ।

साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ ।

‘बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ’, उनले भनिन् गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।

विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट-११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताए ।

गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उनले जानकारी दिए । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस