निक्षेपमा ब्याजदर बढाएपछि राष्ट्र बैङ्क गर्‍यो अनुगमन सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निक्षेपमा ब्याजदर बढाएपछि राष्ट्र बैङ्क गर्‍यो अनुगमन सुरु


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ। बैङ्कहरूले निक्षेप तान्न जथाभाबी ब्याजदर बढाएपछि नेपाल राष्ट्र बैङ्कले अनुगमन सुरु गरेको छ ।

निक्षेपको ब्याजदर जथाभाबी बढाएको धेरै गुनासो आएपछि सुपरिवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले १८ भदौमा आयोजना गरेको एक कार्यक्रममा पनि डेपुटी गभर्नर मिश्रले प्रकाशित ब्याजदरमा तलमाथि गर्ने बैङ्कलाई कारबाही हुने चेतावनी दिएका थिए । ‘जथाभाबी ब्याजदर तलमाथि गर्ने बैङ्कलाई कारबाही हुन्छ, कर्पोरेट निक्षेपलाई व्यक्तिगत बनाउन पाइँदैन’ उनले भनेका थिए, ‘कमा, फुल स्टप जस्ता लोलुप प्रयोग नहोस्, नियाकीय निर्देशन उलङ्घन गर्न मिल्दैन ।’

राष्ट्र बैङ्कले हरेक महिना निक्षेपको ब्याजदर प्रकाशित गरेर तलमाथि गर्न सक्ने व्यवस्था गरेको भन्दै ब्याजदर प्रकाशित गरेर बढाउन सकिने तर, छिद्र खोज्ने कार्य स्वीकार्य नहुने बताएका थिए ।

ब्याजदरका विषयमा एउटा बैङ्कले अर्को बैङ्कमाथि उजुरी गर्ने क्रम बढेको र दुई दर्जन भन्दा बढी उजुरी आफूलाई आएको भन्दै डेपुटी गभर्नर मिश्रले त्यसमा अध्ययन हुने बताएका थिए ।

ब्याजदर र निक्षेप खोसाखोस गर्ने उजुरी बढेसँगै राष्ट्र बैङ्कले उजुरीका आधारमा छानबिन सुरु गरेको अर्का एक अधिकारीले बताए । उनका अनुसार उजुरीको आधारमा बैङ्कहरूसँग विवरण माग गरिएको छ ।

निक्षेपकर्तालाई स्वघोषणा गराएर बैङ्कहरूले रेमिट्यान्स निक्षेप भन्दै प्रकाशित ब्याजदरमा दुई प्रतिशतसम्म बढी ब्याज दिइरहेका छन् । यस्तै संस्थागत निक्षेपकर्तालाई समेत व्यक्तिगत निक्षेपकर्तालाई प्रकाशित गरेको ब्याजदर दिइरहेका छन् ।

‘कतिपय संस्थागत निक्षेपकर्ताले अर्को बैङ्कले यति प्रतिशत ब्याजदर दिन्छु भनेको छ भनेर बैङ्कमा भएको निक्षेप पनि लगिरहेका छन् । हामीले प्रकाशित ब्याजदर भन्दा बढी दिन सक्दैनौँ भन्दा व्यक्तिगत मात्रै होइन संस्थागत निक्षेप नै बाहिरिएको छ’, एक बैंकर्सले भने, ‘दीर्घकालीन निक्षेप योजनाहरू ५ गुणा १० गुणा भनेर ल्याएको निक्षेप योजनाको पनि अवस्था उस्तै छ ।’

नयाँ आर्थिक वर्ष सुरु भएसँगै अधिकांश बैङ्कहरूले धमाधम मुद्दती निक्षेप योजना सार्वजनिक गरे । जसमा बैङ्कले ग्राहकलाई १० गुणासम्म प्रतिफल दिने योजना ल्याएका छन् । यस्ता अफर ल्याउँदै अधिकांश बैङ्कले आफ्ना कर्मचारीलाई पद अनुसार निक्षेप ल्याउन लक्ष्य दिने गरेको र यस्तो अवस्थामा कतिपय निक्षेप भने अवधि पूरा नहुँदै समेत झिक्न माग आएको एक बैङ्कका शाखा प्रबन्धकले बताए ।

कतिपय निक्षेपकर्ता अर्को बैङ्कको नाम लिँदै यति प्रतिशत ब्याज दिन्छु भनेको छ त्यति दिने भए नवीकरण गर्नु अन्यथा त्यसमा लैजान्छु भन्दै वार्गेङ गर्ने गरेको उनले सुनाए । एकातिर टार्गेट पुर्‍याउनुपर्ने दबाब र अर्कोतिर निक्षेप बाहिरिने जोखिम । जसले गर्दा निक्षेपकर्तालाई बैङ्कहरूले छानबिन भए प्रमाण पेस गर्ने स्वघोषणा गराएर रेमिट्यान्स निक्षेप भन्दै केही बैङ्कले १३ प्रतिशतसम्म ब्याजदर दिएका छन् ।

राष्ट्र बैङ्कका अधिकारीहरू भने छानबिन सुरु गरेको र कमजोरी गर्ने जुनसुकै बैङ्कलाई पनि कारबाही हुने बताउँछन् । ‘गुनासो धेरै आएका छन्, के रहेछ विवरण माग गरेर हेर्छाैँ’, राष्ट्र बैङ्क स्रोतले भन्यो, ‘बैङ्कहरूले गल्ती गरेका रहेछन् भने कसरी छोड्नु, बदमासीको पराकाष्ठा भएको छ, कति पटक छोड्ने ।’

यसरी बढी ब्याजदर दिएर लिएको निक्षेप राष्ट्र बैकको अध्ययनपछि घटाउनुपर्ने अवस्था पनि आउन सक्ने ती अधिकारीले बताए । अहिले रेमिट्यान्स भनेर स्वघोषण गराएको निक्षेप रेमिट्यान्सको स्रोत पुष्टि नभएमा निक्षेपकर्तालाई नै पनि कारबाही हुने सक्ने राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।

यति बढी ब्याजदर दिएर अन्य बैङ्कका निक्षेप ल्याएको छ भने ब्याजदर घटाएर पनि उक्र बैङ्कको खातामा किन राख्ने दिन भन्दै त्यो निक्षेप नै निष्त्रिय गराउनुपर्ने अवस्था आउन सक्ने राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । ब्याजदर घटाएर त्यही बैङ्कमा उक्त निक्षेप राख्न दिँदा बदमासी गर्ने बैङ्कलाई नै फाइदा हुने भन्दै त्यसमा राष्ट्र बैङ्क सजग रहेको उनले बताए ।

१र२ प्रतिशत ब्याजदरको लोभमा बैंकर्सको गलत कार्यको साथी नबन्न उनले निक्षेपकर्तालाई पनि आग्रह गरे । विगतमा पनि बैङ्कहरूले प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाउन बैङ्कलाई ब्याजदर फिर्ता गर्न लगाएको भन्दै नियामकीय व्यवस्था उलङ्घन गर्ने कुरा स्वीकार गर्न नसकिने उनले बताए ।

नेपाल बैंकर्स सङ्घले निक्षेपको ब्याजदरमा भद्र सहमति गरेको छ भने राष्ट्र बैङ्कले पनि व्यक्तिगत मद्धती निक्षेपको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत भन्दा बढीले तलमाथि गर्न नपाइने व्यवस्था गरेको छ ।

यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा दिएको अधिकतम ब्याजदर भन्दा संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले कम हुनुपर्ने र मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदरबिचको अन्तर ५ प्रतिशत भन्दा बढी गर्न नपाइने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

यस्तै रेमिट्यान्समा भने मुद्दती र बचतमा व्यक्तिगतको भन्दा १ प्रतिशत बढी ब्याजदर दिनुपर्ने र प्रकाशित गरेर त्यसभन्दा बढी ब्याज दिन सक्ने व्यवस्था छ ।

बैङ्कहरूले भदौ महिनाको लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत र संस्थागत तर्फ ९.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्दा बचतमा न्यूनतम ६ प्रतिशत प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स सङ्घले भद्र सहमति गरेर सबै बैङ्कले एउटै ब्याजदर प्रकाशित गर्ने र त्यही प्रकाशित ब्याजदरमा लोलुप खोज्दै ब्याजदर बढाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस