विभिन्न पार्टीबाट एक दर्जन नेता काँग्रेस (बिपी)मा प्रवेश, खनाल उपसभापतिमा मनोनीत « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

विभिन्न पार्टीबाट एक दर्जन नेता काँग्रेस (बिपी)मा प्रवेश, खनाल उपसभापतिमा मनोनीत


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस (बिपी)को केन्द्रीय समिति बैठकमा आगामी आम निर्वाचनबारे छलफल भएको छ । सोमबार काठमाडौँको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय समितिको बैठकमा चुनावी तयारीबारे छलफल भएको वरिष्ठ उपसभापति कर्ण मल्लले बताए ।

उनका अनुसार बैठकमा पार्टीको चुनावी घोषणापत्र तयारीका विषयमा छलफल भएको थियो । यस्तै आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूबारे पनि छलफल भएको मल्लले बताए । बैठकमा केन्द्रीय सदस्यहरूले देशभर पार्टीको सङ्गठन, उम्मेदवार हुनसक्ने व्यक्ति र चुनावी अवस्थाबारे ब्रिफिङ गरेका थिए । बैठकले विभिन्न पार्टी परित्याग गरी आएकाहरूलाई जिम्मेवारी पनि दिएको मल्लको भनाइ छ ।

सभापति सुशीलमान शेरचन र वरिष्ठ उपसभापति मल्लले काँग्रेस नेतृ रिता खनालसहित एक दर्जन नेता कार्यकर्ता काँग्रेस, माओवादी र समाजवादी पार्टी परित्याग गरी काँग्रेस (बिपी) प्रवेश गरेको मल्लले बताए ।

यसरी प्रवेश गर्नेहरूमा नेपाल शिक्षक सङ्घ प्युठानका पूर्व अध्यक्ष एवं पूर्व वडाध्यक्ष बलबहादुर महतरा क्षेत्री, हेटौँडा काँग्रेस नेता डा.सुरेन्द्र भट्टराई, नेपाल शिक्षक सङ्घ कञ्चनपुरका पूर्व अध्यक्ष वासुदेव भट्ट (शास्त्री), काँग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका पूर्व स्वकीय सचिव देवाखर भट्टराई, मसालका नेता मोहनविक्रम सिंहका भाइ टेकेन्द्र विक्रम सिंह, ट्रेड युनियन काँग्रेसका पूर्व उपाध्यक्ष आशा सिंह राठौर लगायत रहेका छन् ।

यसैगरी आज बसेको केन्द्रीय समितिको बैठकले रिता खनाललाई पार्टीको उपसभापति मनोनीत गरेको छ । यस्तै काँग्रेस (बिपी) कञ्चनपुरका सभापति प्रकाशबहादुर सिंहलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत समेत गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस