शोक मनाउँदै भीभीआईपीको रात्रिभोज, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नजाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शोक मनाउँदै भीभीआईपीको रात्रिभोज, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नजाने


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । बेलायती महारानी एलिजावेथको निधनमा सरकारले शोक मनाइरहेका बेला चिनियाँ उच्चस्तरीय पाहुनाको सम्मानमा गर्न लागिएको रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नजाने भएका छन् ।

‘एकातिर शोक घोषणा गर्ने त्यहीबेला विदेशी उच्चस्तरीय सम्मान शोभनीय भएन । त्यसैले मैले यस्तो कार्यक्रममा नजाने निर्णय गरेको छु । यो गम्भीर कूटनीतिक भुल पनि हो’, अध्यक्ष तिमिल्सिनाले भने ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ समकक्षी (राष्ट्रिय जनकंग्रेसका अध्यक्ष) ली झान्सु आज काठमाडौँ आउँदैछन् । उनको सम्मानमा आज साँझ सोल्टी होटलमा सापकोटाले रात्रिभोज आयोजना गरेका छन् । त्यहाँ भूपू प्रधानमन्त्री, मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, भूपू सभामुखलगायत शीर्ष पाहुनाहरू सहभागी हुनेछन् ।

गठबन्धन सरकार बनेयता लगातार चीनविरोधी तथा चीनलाई अपमानित गर्ने निर्णय हुँदै आएकोमा पछिल्लोपटकको पूर्वनिर्धारित भ्रमणकै बीच शोक मनाउने निर्णयप्रति परराष्ट्र विज्ञहरूले आलोचना गरिरहेका छन् ।

‘यसमा सरकारको किन सामान्य ख्याल गर्न नसकेको हो ? यो त सरासर चीनविरोधी नीतिको निरन्तरताका रुपमा चिनियाँ नेता आउने दिन शोक मनाउने निर्णय गरेको देखियो । नत्र चिनियाँ नेता आउने दिनको ख्याल गरेर २४, २५ र २६ पनि गर्न सकिन्थ्यो’, परराष्ट्र मामलाका एक जानकार भन्छन् ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले बेलायतकी महारानी एलिजाबेथको निधनमा भदौ २५–२७ गतेसम्म तीनदिन शोक मनाउने निर्णय गरेको थियो ।

चीनमा राष्ट्रपति सी जिनपिङपछिको तेस्रो वरीयताका उच्चपदस्थ व्यक्ति हुन् ली झान्सु । उनी तीनदिन नेपाल रहनेछन् ।

शोक र देशभर आधा झण्डा झुकाइरहेका बेला दुई देशको झण्डा फहराएर विदेशी पाहुनालाई स्वागत गर्न मिल्छ? भन्ने प्रश्नका बीच राजकीय रात्रिभोजप्रति शोक मनाउनु आकस्मिक घटना भएकाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न नपर्ने भन्दै सरकारी पक्षले बचाउ गरेको छ ।

राष्ट्रपति सीपछिको नेपालमा हुन लागेको चीनको उच्चस्तरीय भ्रमणका बेला सरकारले सोही दिनसम्म लम्ब्याउने गरी मनाएको शोक दिवसलाई संयोगमात्र मान्न नसकिने भन्दै सभामुख पनि चिन्तित रहेको उनीनिकट स्रोतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस