चुनावमा ३ लाख सुरक्षाकर्मी खटाइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चुनावमा ३ लाख सुरक्षाकर्मी खटाइने


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा योजना स्वीकृत गरेको छ ।

आमनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालनसम्बन्धी सुरक्षा योजना स्वीकृत भएको हो ।

सुरक्षा योजनामा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट पौने २ लाख तथा म्यादीका १ लाख १५ हजार परिचालन गरिने उल्लेख छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना-२०७९’ स्वीकृत गरेको हो । केन्द्रीय सुरक्षा समितिले सुरक्षा योजना एकीकृत रूपमा पेस गर्न गृह र रक्षा मन्त्रालय तथा चार वटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

त्यसपछि गृह सचिव, गृह प्रवक्ता तथा चार वटै सुरक्षा निकायले आ-आफ्नातर्फबाट बनाएका संयन्त्रमार्फत सुरक्षा योजनाको मस्यौदा तयार पारेका थिए । त्यसैलाई एकीकृत रूपमा छलफल गरेर आइतबार सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा योजना अनुमोदन गरेको हो ।

योजना स्वीकृत गर्दै गृहमन्त्री खाँणले निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

निर्वाचनमा करिब ७५ हजार सैनिक, ६५ हजारभन्दा बढी प्रहरी, करिब ३२ हजार सशस्त्र र १ लाख १५ हजार म्यादी प्रहरीलाई सुरक्षा व्यवस्थापनमा परिचालन गरिनेछ । राष्ट्रिय अनुसन्धान विभागबाट करिब एक हजार पाँच सयलाई खटाइनेछ ।

निर्वाचनमा १० हजार ८ सय ८८ मतदान स्थल र करिब २३ हजार मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस