ढोरपाटनमा अब बँदेलको सिकार गर्न पाइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ढोरपाटनमा अब बँदेलको सिकार गर्न पाइने


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । किसानको बालीनाली नोक्सान पार्न थालेपछि ढोरपाटन क्षेत्रमा बँदेलको सिकार गरिने भएको छ ।

बँदेलले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय समुदायको मागअनुसार बँदेलको सिकार गर्ने अनुमति दिइएको ढोरपाटन सिकार आरक्षले जनाएको छ । जसकारण स्थानीयको माग केही हदसम्म सम्बोधन हुने आरक्षको अनुमान छ ।

ढोरपाटन सिकार आरक्षमा यसअघि झारल र नाउरको सिकार गरिँदै आएको थियो । हरेक वर्ष खेतीबाली नोक्सानी गर्न थालेपछि स्थानीयले बँदेलबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने र संख्या घटाउनुपर्ने माग राख्दै आएका थिए ।

यो सिकार आरक्षमा यसअघि झारल र नाउरको मात्र सिकार गर्न अनुमति दिइँदै आएको थियो । यसपटक विदेशीलाई नाउर, झारलका साथै बँदेलको सिकारका लागि अनुमति दिइएको छ भने नेपालीका लागि बँदेलको मात्र सिकार गर्न अनुमति दिइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभागले वर्षको दुई सिजनमा रोयल्टी लिएर सिकार खेलाउने गरेको छ । चालू आर्थिक वर्षको पहिलो सिजन असोजदेखि मङ्सिर महिनासम्मको अवधिका लागि सिकार खेल्न चाहने सिकारीलाई निवेदन आह्वान गरेको विभागले जनाएको छ ।

यो पटक बँदेल ११ वटा, नाउर १९ वटा र झारल १४ वटा सिकार गर्न पाइने भएको छ । ढोरपाटन उपत्यका र म्याग्दीको गुर्जा क्षेत्रमा बँदेलको बढी सिकार गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस