गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, कार्यदलमा पेस गर्ने तयारी  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, कार्यदलमा पेस गर्ने तयारी 


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केही बेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए ।

प्रस्तावित मस्यौदामध्ये नेपाली काँग्रेसलाई लोसासहित ९० सीट छुटाइएको छ । यसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका लोसपा नेतालाई समर्थन जनाउने र जिताउने गरी काँग्रेसले बाँड्नुपर्नेछ ।

त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट प्रस्ताव गरिएको छ ।

यसअघि १६५ सिटमध्ये काँग्रेस ८६ सीटमा लडेर ७९ सीट अरूलाई बाँड्न सहमत भएको थियो । कार्यदलका एक नेताका अनुसार सोही सेरोफेरोमा रहेर आज दिउँसोको बैठकमा छलफल हुन लागेको छ ।

बिहानको बालुवाटार बैठकमा माधव नेपालले काँग्रेसलाई ७० सीटमा लड्न देउवालाई आग्रह गरेका छन् । त्यस्तै प्रचण्डले काँग्रेस ८२, अरू दल ८३ सीट बाँडौँ भनेर प्रस्ताव गरेका छन् ।

काँग्रेस सय सीटकै औपचारिक अडानमा रहे पनि देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन सङ्केत गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस