इच्छाराज तामाङसहित ६ जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

इच्छाराज तामाङसहित ६ जनाविरुद्ध मुद्दा दायर


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनकी श्रीमती विना श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।

विभागले बिहीबार गराएको सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको निष्कर्ष निकालिएको छ ।  यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानमा फेला परेको छ ।

विभागले दिएको जानकारी अनुसार तामाङका छोरीहरू प्रतीक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । यस्तै, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । सबैसँग गरी ५ अर्ब ६७  करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

विभागका अनुसार तामाङले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको बचत रकम आफ्नो र परिवारको नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएका थिए । आफ्नो एकाधिकार रहने गरी विभिन्न कम्पनी स्थापना गर्ने र तिनै कम्पनी मार्फत कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम आफ्नो र परिवारको बनाउने गरिएको छ । तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका हुन् ।

सम्बन्धित सरमाचार- ब्रेकीङ न्यूज : इच्छाराज तामाङविरुद्ध ५ अर्बको मुद्दा दायर गरिँदै

Tags :
प्रतिक्रिया दिनुहोस