जबराको जवाफबारे यस्तो भन्छन् महाभियोग सिफारिस समिति सदस्यहरू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जबराको जवाफबारे यस्तो भन्छन् महाभियोग सिफारिस समिति सदस्यहरू


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । महाभियोग सिफारिस समितिले सोधेको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले व्याख्यात्मक शैलीमा जवाफ दिएको काँग्रेसका सांसद तथा समिति सदस्य मीन विश्वकर्माले बताएका छन् ।

समितिले बिहीबार सोधेको प्रश्नमा धेरै भूमिका बाँधेर‚ धेरै प्रक्रियाबाट गएको र घरीघरी समिति र संसद्‌लाई नै प्रश्न गर्दै व्याख्यात्मक शैलीमा जबराले जवाफ दिएको सांसद विश्वकर्माले बताए ।

बिहीबार निलम्बित प्रधानन्यायाधीशले न्याय सम्पादन गर्न नसकेको‚ भ्रष्टाचारमा मुछिएको‚ शक्ति सन्तुलन कायम गर्न नसकेको र न्याय सम्पादनका प्रक्रिया भ्रष्टाचारमा केन्द्रित भएर गरेको भन्ने अभियोगको विषयमा सोधिएको थियो ।

१८ गतेसम्म समितिले प्रतिवेदन तयार पार्ने भनिए पनि जबरालाई सोध्नुपर्ने प्रश्न नै नसकिएकाले कार्यतालिका संशोधन गरिने समितिकी सदस्य रेखा शर्माले बताइन् । त्यसका लागि समितिको अनौपचारिक बैठक छिट्टै बस्ने पनि उनले बताइन् ।

बिहीबारको बयानमा जबराले समितिको औचित्यमाथि नै प्रश्नसमेत उठाएका थिए । महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै समिति सदस्य भएको भन्दै उनले प्रश्न उठाएको समितिका अर्का सदस्य प्रमोद साहले बताए । समिति सदस्य शर्माले हस्ताक्षर नगरेका सांसद मात्र खोज्ने हो भने एक वा दुई पार्टीबाट मात्र समिति गठन हुने अवस्था आउने बताइन् । समितिमा आइसकेपछि सबैले प्रमाणका आधारमा निष्पक्ष रूपमा काम गर्नुपर्ने उनको भनाइ छ ।

गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुङ्ग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो । ६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो ।

अब भदौ १९ गतेदेखि पुनस् निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु हुनेछ । शुक्रबार प्रतिनिधिसभा बैठक भएकाले १९ गते आइतबार बयानका लागि बोलाइएको समिति सभापति रामबहादुर गुरुङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस