बालेन शाहद्वारा विभागलाई दमकल हस्तान्तरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालेन शाहद्वारा विभागलाई दमकल हस्तान्तरण


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेनं) ले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख शाहले यस्तो बताएका हुन् ।

दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामासमेत लाभ पुग्ने महानगरको विश्वास छ । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ ।

यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । ३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधामाथि पानी फाल्न सक्छ । ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टक (एबीयस) हुन् । ३ बर्ष वारेन्टी भएका दमकलहरुमा एवीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन् ।

८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् । घना बस्ती भएकाले काठमाडौं आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो ।

नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् । जुद्धबारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।

त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस