सञ्चारसम्बन्धी कानुनहरू टुङ्गोमा पुर्‍याउन पहल गर्छु : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सञ्चारसम्बन्धी कानुनहरू टुङ्गोमा पुर्‍याउन पहल गर्छु : प्रधानमन्त्री देउवा


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालु अधिवेशनमा नै टुङ्गोमा पुर्‍याउन सरकारले पहल गर्ने बताएका छन् । मंगलबार नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले मिडिया काउन्सिल विधेयकसहित विचाराधीन अवस्थामा रहेका विधेयकहरूलाई टुङ्गोमा पुर्‍याउन सरकारले पहल गर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेको भन्दै महासङ्घका पदाधिकारीहरूले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलसहित पदाधिकारीसँग भेटपछि प्रधानमन्त्री देउवाले महासङ्घले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुङ्गोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई फोनमार्फत निर्देशन दिएका थिए ।

महासङ्घका अध्यक्ष पोखरेलले प्रधानमन्त्रीसँगको भेटमा मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुङ्गोमा पुर्‍याउन पहल गर्न आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया पाएको बताए । महासङ्घले अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै चिन्ता प्रकट गरेको छ ।

महासङ्घले प्रतिनिधिसभा भङ्ग हुनु अगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुङ्गोमा पुर्‍याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस