प्रधानमन्त्री देउवा चुनावअघि अमेरिका भ्रमणमा नजाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा चुनावअघि अमेरिका भ्रमणमा नजाने


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको छ । आगामी असोज पहिलो हप्ता हुन लागेको संयुक्त राष्ट्र सङ्घ (युएन) को ७७औँ महासभामा समेत सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले देउवाको अमेरिका भ्रमणको विगत लामो समयदेखि तयारी गरिरहेको थियो ।

तर, परराष्ट्रले आगामी २ असोजका लागि गरिरहेको भ्रमण तयारी तत्कालका लागि रोकिएको छ । यससँगै आगामी ४ मङ्सिरका लागि तोकिएको निर्वाचनअघि देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको हो ।

नेपाल अमेरिका दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठको अवसर पारेर पछिल्लो समय दुई देशबीच बाक्लो भ्रमण आदान–प्रदान भइरहेको छ । सोही क्रममा प्रधानमन्त्री देउवाको गत असार अन्तिम साता नै अमेरिका भ्रमणमा जाने तयारी भएको थियो ।

तर, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० को विषयलाई लिएर चर्को विरोध भएपछि देउवाले मन्त्रिपरिषदबाटै त्यसलाई अघि नबढाउने निर्णय गरेका थिए । असार पहिलो साता देउवाले उक्त निर्णय गरेपछि सोही महिनाको अन्तिम साता हुने भनिएको उनको भ्रमण अघि बढेन ।

बालुवाटार र परराष्ट्र मन्त्रालय स्रोतहरूका अनुसार देउवाले एसपीपीलाई अघि नबढाउने भनेर मन्त्रिपरिषद्बाटै निर्णय गराएपछि अमेरिकाले समेत भ्रमणको विषयमा चासो दिन छाडेको थियो । तर, चर्चा चलिसकेको हुँदा जसरी पनि अमेरिका जाने मनस्थिति देउवाले बनाएका थिए ।

आगामी ४ असोजदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा सदस्य राष्ट्रका उच्च तहका नेताहरूको सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा सोही अवसरमा औपचारिक भ्रमणसमेत गर्ने मनस्थितिमा देउवा थिए ।

परराष्ट्र मन्त्रालयले देउवाको भ्रमण र महासभा हुने सहभागिताको विषयमा पत्रकार सम्मेलनमा नै जानकारी दिएको थियो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको र युएन महासभामा उच्चस्तरीय भ्रमण हुने’ भनेर जानकारी गराएकी थिइन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले पनि देउवाको अमेरिका भ्रमणका विषयमा सकारात्मक अभिव्यक्ति दिएका थिए ।

तर, अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेट्ने समयको उपलब्धता सुनिश्चित नभएपछि देउवाले चुनावको मुखमा भ्रमणमा नजाने मनस्थितिमा पुगेको बालुवाटार निकट स्रोतको दाबी छ ।

देउवाले औपचारिक भ्रमणसँगै युएन महासभाका क्रममा हुनसक्ने साइडलाइन भेटवार्ताका लागि समेत प्रयास नगर्न निर्देशन दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस