ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई दैनिक ५ सय भत्ता दिने महानगरकाे निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई दैनिक ५ सय भत्ता दिने महानगरकाे निर्णय


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ खाली गर्न खटिने नगर प्रहरीको प्रोत्साहन भत्ता बढाउने भएको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको आठौँ बैठकले नगर प्रहरीले पाउँदै आएको दैनिक तीन सय भत्ताबाट बढाएर पाँच सय पुर्‍याउने निर्णय गरेको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई उक्त भत्ता दिइनेछ ।

यस्तै, बैठकले काठमाडौँ महानगरभित्रका सरकारी विद्यालयमा सात कक्षासम्म अध्ययनरत बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च पनि दिने भएको छ । सरकारले दैनिक १५ रुपैयाँ खाजा खर्च दिँदै आएकोमा महानगरपालिकाले थप १० रुपैयाँ दिने निर्णय गरेको हो । सरकारले आधारभूत तहमा अध्यनरत बालबालिकालाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ । यसबाहेक बैठकले २७ बुँदे प्रस्ताव पारित गरेको छ ।

बैंठकमा अघि सारिएका प्रस्तावमा उपस्थित सबैले सहमति जनाएपछि ती प्रस्तावहरू पारित भएको महानगरले जनाएको छ । महानगरका अनुसार ३२ जना इन्जिनियर, ३२ जना विशेषज्ञ डाक्टर र ३२ जना नर्सहरू राख्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

यस्तै, बैठकले टेकुस्थित ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोर ढुवानीका लागि निजी टिपर र ट्रक भाडामा लिने निर्णय पनि गरेको छ । मेलमिलापकर्ता सूचीकृत गर्ने, महानगरका लागि कानुनी सल्लाहकार नियुक्ति गर्ने, करारमा कार्यरत कर्मचारीलाई ०७९ पुस मसान्तसम्म म्याद थप्नेलगायत निर्णय पारित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस