सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नु पर्छ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नु पर्छ : मन्त्री श्रेष्ठ


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

सोमबार पशुपति सङ्ग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।

उनले पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मालम्वीहरु एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताए। मन्त्री श्रेष्ठले पशुपति परिसर आफैँमा सभ्यताको पहिचान बोकेको स्थान रहेको पनि बताए।

उनले पशुपति परिसरको व्यवस्थापन, सरसफाइ र पूजा, आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिन जरुरी रहेको बताए। मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका सांस्कृतिक सम्पदाहरूलाई संरक्षण र संवर्द्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने दाबी गरे।

उनले भने, ‘पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र हो। पशुपति परिसर आफैँमा एउटा सभ्यताको पहिचान बोकेको ठाउँ हो। पशुपतिले विश्वका हिन्दु धर्मालम्वीहरु आउनुपर्छ भन्ने मान्यता बोकेको छ। सरकारले त्यो खालको वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि छ। पशुपति परिसरका व्यवस्थापन, सरसफाइ र पूजा आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा यहाँको मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिनुपर्छ। नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका संस्कृति र सम्पदाहरूलाई संरक्षण र संवर्द्धन गरेर मात्रै विकास गर्न सकिन्छ। पर्यटन मन्त्रालयले पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्यक्रम घोषणा गर्दा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा महत्त्व दिएका छौँ। यसको संरक्षण र संवर्द्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्नसक्छौं। नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउन सक्छौँ। नेपालमा नै रोजगारी वृद्धि गरी मुलुकलाई समृद्धितर्फ लैजान सकिने मन्त्रालयले विश्वास लिएको छ।’

मन्त्री श्रेष्ठले मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्यक्रम घोषणा गर्दा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा महत्त्व दिएको बताए। मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण र संवर्द्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्न सकिने उनको दाबी छ। भूकम्पबाट क्षतिग्रस्त पशुपति सङ्ग्रहालयको मर्मत सम्भार नेपाल इन्भेस्टमेन्ट बैङ्कले गरेको हो। बैङ्कले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस