कर्णाली प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलन रोकेर काममा फर्किए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णाली प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलन रोकेर काममा फर्किए


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा.करण साहमाथि भएको कुटपिटको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । 

उनीहरूले चिकित्सक कुट्ने प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र प्रतिष्ठानले छानबिन समिति बनाएर घटनाको छानबिन गरिरहेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएका हुन् ।

उनीहरूले छानबिन समितिलाई छानबिनमा सघाउने र प्रहरी अनुसन्धानमा समेत सहयोग गर्ने बताएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भदौ ३ र ४ गते हातमा कालोपट्टि बाँधेर विरोध जनाएका थिए । ५ गते आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए । प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा समेत ज्ञापन पत्र पेस गरेका थिए । सोमबारदेखि पेन डाउनको कार्यक्रम राखेको भए पनि घटनाको छानबिन भइरहेकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पूजन रोकायाले जानकारी दिए । उनका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सोमबार नियमित काममा फर्किएका हुन् । 

आकस्मिक कक्षभित्र चिकित्सक कुटिएको विषयमा बुझ्न नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष अनिल कार्की, महासचिव बद्री रिजाल र कोषाध्यक्ष प्रकाश बुढाथोकी जुम्ला पुगेका थिए । उनीहरूले जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रमीला रिजाल, डिएसपी नरेन्द्र चन्द, सरकारी वकिल र पीडितलाई भेटेर यथार्थ जानकारी लिएको कर्णाली अस्पतालले जनाएको छ ।

नेपाल चिकित्सक सङ्घको टोलीले कुटिएका करण साहलाई आफूसँगै काठमाडौँ ल्याइएको छ । उनको थप उपचार र मानसिक तथा शारीरिक तनाव कम होला भनेर साहलाई काठमाडौँ उठाइएको डा. रोकायाले जानकारी दिए ।

छानबिन समितिका संयोजकसमेत रहेका रोकायाले छानबिन समितिले प्रक्रिया अघि बढाइसकेको बताए ।

उनले भने, ‘निरन्तर बैठक बसेर घटनाक्रमका बारेमा कसरी अघि बढ्ने विषयमा छलफल भइरहेको छ । घटनामा संलग्न र प्रत्यक्षदर्शी सबैसँग बयान लिने काम भइरहेको छ । गत बिहीबार प्रशासनका कर्मचारी धनबहादुर शाहीले आफ्नो छोराको टाँका नकाटेको भन्दै डा.साहमाथि हातपात गरेका थिए । शाहीले डा.साहलाई हातपात गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले चिकित्सक कुट्ने शाहीलाई ४५ दिन निलम्बनसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले अस्पताल घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले घटनालाई राजनीतिकरण गरेर दोषीलाई उम्कने वातावरण सिर्जना नगर्नसमेत आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस