रोकिएका विधेयक पारित गर्न तीव्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रोकिएका विधेयक पारित गर्न तीव्रता


४ भाद्र २०७९, शनिबार


विकास र समृद्धि

काठमाडौँ । सङ्घीय संसद्को चालू अधिवेशनले लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न तीव्रता दिएको छ ।

बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ।

तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ। सङ्घीय संसद्का दुवै सदनमा गरेर अहिले पनि ४९ वटा विधेयक विचाराधीन छन्। संसद्को चालू अधिवेशन नै अन्तिम हुने भएकाले तीमध्ये धेरै विधेयक कार्यकाल सकिएर निष्क्रिय हुने अवस्थामा छन्।

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले विचाराधीन केही विधेयक अगाडि बढ्ने अवस्था रहेको बताए । उनले भने, ‘यो अन्तिम अधिवेशन नै हो। अहिले विचाराधीन ४९ वटामध्ये केही विधेयक अगाडि बढ्ने अवस्था छ तर धेरै विधेयक निष्क्रिय हुन सक्छन्।’

सङ्घीय संसद्को अवधिमा कुल १५२ वटा विधेयक दर्ता भएका छन् जसमा फिर्ता भएका ११ वटा विधेयकको विवरण पनि संलग्न छ। तीमध्ये ९२ वटा विधेयक हालसम्म प्रमाणीकरण भइसकेका छन्। नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाले प्रस्तुत रूपमा नै पारित गरिसकेको छ। अब राष्ट्रिय सभाले पारित गरेपछि विधेयक प्रमाणीकरणको प्रक्रियामा जाने छ।

Tags :
प्रतिक्रिया दिनुहोस