एमसीसी परियोजना : आगामी पुषमा टेण्डर हुने, २०२३ को अगष्टबाट काम सुरु गर्ने तयारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमसीसी परियोजना : आगामी पुषमा टेण्डर हुने, २०२३ को अगष्टबाट काम सुरु गर्ने तयारी


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । बहुचर्चित एमसीसी परियोजनाको टेण्डर आगामी पुष महिनामा हुने भएको छ । बिहीबार एमसीसी परियोजना अगाडि बढाउने नेपाली संस्था एमसीए नेपालले अन्तरक्रिया गर्दै आगामी पुष महिनामा टेण्डर आव्हान गर्न लागिएको बताएको हो ।

मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार ४०० केभी प्रसारण लाइन निर्माण तथा तीनवटा सबस्टेशन निर्माणको लागि टेण्डरको कागजात तयार भइसकेको छ । आगामी पुष महिनामा अन्तर्राष्ट्रिय टेण्डर गरेर परियोजनाका लागि ठेकेदारहरू छनोट गरिने विष्टले बताए । टेण्डरको समय ६ महिनाको हुनेसमेत विष्टले बताएका छन् । 

आगामी पुष महिनामा टेण्डर आव्हान गरी २०८० सालको असार महिनाभित्र ठेकेदार छनोटको काम सकी भदौ महिनादेखि परियोजनाको काम सुरु गर्ने एमसीए नेपालले जनाएको छ । यद्यपि अहिले पनि परियोजनाको पूर्वतयारीको काम भइरहेको बताएको छ । आगामी असार महिनाभित्र परियोजना पूर्वतयारीको सबै काम सकी साउन वा भदौ महिनादेखि परियोजना निर्माणको काम सुरु गरिने छ ।

गत फागुन १२ गते संघीय संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसलगत्तै एमसीसी परियोजना निर्माणको बाँकी काम तीव्ररूपमा भइरहेको छ । एमसीए नेपालका अनुसार ३१५ किलोमिटर लामो प्रसारण लाइनको रेखाङ्कनको काम पूरा भइसकेको छ । यद्यपि केही स्थानमा अवरोध सिर्जना भएको कारण त्यसको विकल्प छ कि भनेर अध्ययन भइरहेको पनि एमसीए नेपालले बताएको छ । ३२ किलोमिटर क्षेत्रमा केही समस्या आएको र त्यसको समाधानका लागि काम गरिरहेको एमसीए नेपालले जनाएको छ ।

सरकारी कम्पनीलाई प्रतिस्पर्धामा निषेध

आगामी पुष महिनामा हुने टेण्डरमा सरकारी स्वामित्वका कम्पनीले भने भाग लिन नपाउने भएका छन् । ठेक्काको काम व्यापारमुखी काम भएकाले सरकारी कम्पनीलाई नभई निजी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले मात्रै प्रतिस्पर्धामा भाग लिने पाउने एमसीए नेपालले जनाएको छ । एमसीसी परियोजनाका ठेक्कामा ५ देशका कम्पनीहरूले भने भाग लिने नपाउने एमसीए नेपालले जनाएको छ ।

यसअघि एमसीसी परियोजनाको सुरुवात मिति कुनलाई राख्ने भन्ने विवाद थियो । बिहीबारको पत्रकार भेटघाटका क्रममा एमसीए नेपालले हाल पूर्वतयारीको काम गरिरहेको र सन् २०२३ को जुलाईको अन्तसम्म जग्गा अधिग्रहण, रुख कटान, मुआब्जा वितरण लगायतका सबै काम सकी २०२३ को अगष्टबाट परियोजनाको निर्माण सुरु गर्ने बताएको छ । ५ वर्षभित्र सक्नुपर्ने कामको मिति गणना सन् २०२३ को अगष्टबाट सुरु हुने पनि एमसीए नेपालले जनाएको छ ।

३ नयाँ स्टेशन र ४ सय केभीको ३१५ किलोमिटर प्रसारणलाइन निर्माणको योजना

एमसीसी परियोजना अन्तर्गत नेपालमा ४ सय केभीए क्षमताको ३१५ किलोमिटर लामो प्रसारणलाइन र ३ वटा नयाँ शव स्टेशन बनाउन लागिएको छ । वातावरणीय प्रभावलाई न्यूनीकरण गर्नका लागि यसअघि १ हजार ३१५ वटा विद्युत्का पोल बनाउने तयारी गरिएकामा अहिले विद्युत् पोलको उचाइ बढाउने तर पोलको सङ्ख्या घटाउन लागिएको छ । हाल ८५४ वटा मात्रै पोल गाड्ने गरी डिजाइन गरिएको एमसिए नेपालले जनाएको छ । टावर ठुलो भएको कारण एउटा टावर जडान गर्नका लागि करिब एक रोपनी क्षेत्रफल ओगटिने र दायाँ बायाँ ३० मिटर क्षेत्रमा संरचना बनाउन नमिल्ने एमसीए नेपालले जनाएको छ ।

एमसीए नेपालका अनुसार प्रसारण लाइन निर्माणका क्रममा नुवाकोटको रातमाटे, तनहुँको दमौली र बेटवलमा नयाँ शव स्टेशन निर्माण गरिने छ । एमसीसी परियोजना अन्तर्गत नै दाङमा ७० किलोमिटर सडकको स्तरउन्नती र मर्मत गर्ने काम पनि परियोजनाले गर्ने छ । दाङको धानखोलादेखि शिवखोला (दाङको दुई सिमाना) सम्मको सडम एमसीसीले मर्मत गर्ने छ ।

हालसम्म साँढे ६ अर्ब खर्च

एमसीसी परियोजना अन्तर्गतका कामका लागि हालसम्म ६ अर्ब रुपैयाँ खर्च भएको एमसीए नेपालले जनाएको छ । पहिलो चरणको पूर्वतयारी योजना अन्तर्गत पुनर्वास कार्ययोजना, प्रसारण लाइन रेखाङ्कनमा आएको गुनासो सुनुवाइ, जग्गा अधिग्रहण, मुआब्जा वितरण, रुख कटानको अनुमति, निर्माण कार्यलाई ठेक्का दिन आवश्यक कागजातको तयारी र कर्मचारीको तलब भत्तामा यो रकम खर्च भएको एमसीए नेपालले जनाएको छ ।

एमसीसी परियोजनामा पूर्वतयारीको काम पूरा गर्नका लागि ८ करोड ५ लाख डलर छुट्याइएको छ । हालको सटही दरका दरले हेर्दा यो रकम १० अर्ब ३० करोडको हाराहारीमा हुन्छ । कुल बजेटको करिब १२ प्रतिशत पूर्वतयारी कार्यका लागि खर्च गर्न पाइने परियोजनामा उल्लेख छ । एमसीसी परियोजना निर्माणका लागि अमेरिकी सरकारको एमसीसी परियोजनाबाट ५० करोड अमेरिकी डलर र नेपाल सरकारबाट १३ करोड अमेरिकी डलर गरी कुल ६३ करोड डलर छुट्याइएको छ । यसको नेपाली मूल्य हालको सटही दरका हिसाबले करिब ८० अर्ब हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस