कर्मचारी चार, कार्यक्षेत्र पाँच जिल्ला ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारी चार, कार्यक्षेत्र पाँच जिल्ला !


२ भाद्र २०७९, बिहिबार


दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य/दाना बजार तथा उद्योग अनुगमन, नमूना सङ्कलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ ।

व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने जम्मा चार जना मात्रै छ । कार्यालयका एक खाद्य अनुसन्धान अधिकृत, दुई प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।

पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी कम हुँदा बजार अनुगमनलगायतका काममा समस्या हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेलले जानकारी दिए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उनले बताए । ‘कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ’, उनले भने, ‘भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमूना सङ्कलन, मुद्दाको अनुसन्धानको काम भइरहेको छ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारणको जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ को अवधिमा एक सय ७७ खाद्य ऐन बमोजिमका नमूना, ५९ वटा सर्भिलेन्सका लागि खाद्य नमूना र दाना ऐनबमोजिमका १३ वटा दाना पदार्थको नमूना सङ्कलन गरेको थियो ।

कार्यालयले सोही अवधिमा एक सय २० वटा खाद्य उद्योगको निरीक्षण, २८ पटक अन्य निकायसँग संयुक्तरुपमा बजार अनुगमन, पाँच पटक हाटबजार मेला अनुगमन गरेको पोख्रेलले जानकारी दिए ।

त्यस्तै एक सय ९० भन्दाबढी खाद्य पलस र एक सय १९ वटा विभिन्नस्तरका होटल, रेस्टुराँ, मिठाइ पसल, भोजनालय निरीक्षण गरिएको छ । अनुगमनका क्रममा २४ पसलमा देखिएका रु ४३ हजार पर्ने म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको थियो । चार पटक चार ठाउँमा खाद्य उद्योगीसँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गरिएको कार्यालयले जनाएको छ । दुई पटक स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी अन्तक्र्रिया र दुई पटक सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको जनाइएको छ ।

कार्यालयले सोही अवधिमा अनुज्ञापत्र जारी/नवीकरण र विश्लेषण शुल्कबापत रु एक लाख ५४ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । खाद्य मुद्दा सम्बन्धमा सात वटा मुद्दा दायर भएकामा चार वटा मुद्दाको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी सम्बन्धित निकायमा सक्कल मिसिल पठाइएको पोख्रेलले बताए ।

त्यस्तै एक सय ७७ खाद्य नमूनामध्ये १६ वटा नमूना खाद्य ऐनको प्रतिकूल रहेको पाइएको छ भने १३ मध्ये दुई दाना पदार्थको नमूना ऐनविपरीत रहेको पाइएको छ ।

कार्यालयले उक्त अवधिमा दूध तथा दूध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फल तथा सागपातका २६, मसलाका १४, चिया कफीका १४, नूनका दुई, खाद्यान्न, दलहन र सोबाट बनेका खाद्यका ४४, प्रशोधित पिउने पानीको १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना सङ्कलन गरेको थियो ।

कार्यालयले चाडपर्वका बेलामात्र नभई अन्य समयमा पनि नियमितरुपमा बजार अनुगमन गर्दै आएको पोख्रेलले बताए । ‘अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि सङ्कलन गर्छौं, सङ्कलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरेका हौँ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस