दसैँका लागि २ हजार खसी, बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दसैँका लागि २ हजार खसी, बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँका लागि दुई हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार विगतका दसैँमा जस्तै यस वर्ष पनि खसी, बोका र च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने योजना बनाइएको छ ।

यो वर्षको दसैँमा दुई हजार खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने गरी ६ करोड ४० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सञ्चालक समितिले यसलाई निर्णय गर्न बाँकी छ ।

दसैँमा मासुको माग उच्च हुने र व्यवसायीले कृत्रिम मूल्यवृद्धि गर्ने भएकाले नियन्त्रणका लागि सरकारले बर्सेनि खसी, बोका र च्याङ्ग्रा ल्याएर बिक्री गर्ने गरेको छ । गत वर्ष मकवानपुर, दाङलगायतका जिल्लाबाट दुई हजार खसी, बोका ल्याएर कम्पनीले बिक्री गरेको थियो । बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँसम्म सस्तो मूल्य निर्धारण गरी कम्पनीले खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने गरेको छ । जस कारण बजार मूल्यभन्दा प्रतिगोटा तीन–चार सय रुपैयाँसम्म सस्तो पर्न जान्छ ।

कम्पनीले स्थानीय खसी, बोका मात्रै खरिद गरी ल्याउने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गरेको छ । खाद्य कम्पनीले गत वर्ष भने च्याङ्ग्रा ल्याउन सकेको थिएन । बजार माग कम हुने, तर मूल्य उच्च भएका कारण गत वर्ष ल्याउन नसकेको कम्पनीले जनाएको छ ।

व्यवसायीहरूका अनुसार काठमाडौँ उपत्यकामा मात्रै बर्सेनि दसैँमा ५० हजार वटा खसी, बोका र च्याङ्ग्राको माग हुने गरेको छ । यसमध्ये आधाभन्दा बढी माग भारतीय खसी, बोकाबाट पूर्ति हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस