जुम्लामा थपिए एक हजार नौ सय २७ मतदाता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जुम्लामा थपिए एक हजार नौ सय २७ मतदाता


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । 

आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन अन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आठ सय ८४, इलाका प्रशासन कार्यालय सिंजा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिए ।  

यही साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन बन्द भएको थियो । निर्वाचन कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट गरी तीन ठाउँबाट जिल्लामा मतदाता नामावली सङ्कलन भएको थियो । सो अवधिमा ३० जनाले मतदाता नामावलीमा आफ्नो नाम सच्याएका छन् । ३१ जनाले मतदाता नामावली सारेको कम्प्युटर अपरेटर रावलले जानकारी दिए ।

गतको स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार सात सय ४४ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा जिल्लाभरि ७९ मतदानस्थल र एक सय दुई मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको कूल मतदाता सङ्ख्याको आधारमा केही मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या बढ्न सक्ने आयोगले जनाएको छ । आयोगको केन्द्रबाट जुम्लाको मतदाता सङ्ख्याको विवरण पठाएपछि मात्र मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस