नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको निर्णय उचित : एमाले « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको निर्णय उचित : एमाले


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जनताको भावना बुझेर फिर्ता पठाएको बताएका छन्।

एमालेको कारणले नभएर जनताको भावनाअनुसार राष्ट्रपतिले विधेयक फिर्ता पठाएको उनले बताए।

‘राष्ट्रपतिले हाम्रो कारणले विधेयक फिर्ता पठाउनुभएको होइन। जनताको भावना बुझेर फिर्ता पठाउनुभएको हो। हामीले वैवाहिक अङ्गीकृतको सवालमा सात वर्षे प्रावधान राख्नैपर्ने माग गरेका थियौँ। त्यसमा सहयोग भएन,’ उनको भनाई छ।

राष्ट्रपतिबाट विधेयक फिर्ता भएकाले अब त्यो प्रावधान राख्न दबाब दिइने उनले बताए।

‘राष्ट्रपतिबाट विधेयक फिर्ता भएको छ। हामी अब सात वर्षे प्रावधानबारे दबाब दिनेछौँ। राष्ट्रपतिको निर्णय उचित छ,’ उनले भने।

संघीय संसदबाट पारित भएको नागरिकता विधेयक साउन १५ मा राष्ट्रपति समक्ष प्रमाणीकरणका निम्ति पुगेको थियो।

उक्त विधेयक पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले आइतबार फिर्ता पठाएकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस