सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड भएको छ ।

रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् ।

कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।

करिब ७०-८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् ।

कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्‍याइएको छ । उनीहरुले कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काइदिएका छन् । आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन् । कार्यालयका विभिन्न संरचनाहरु भत्काइदिएका छन् ।

२९ माघ, २०७६मा नै रसुवाका स्थानीयलाई दिने सेयरबारे समझदारी भएको थियो । तर, गत्लाङका स्थानीयले माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरुलाई कम सेयर दिन खोजिएको भन्दै विरोध गरिरहेका थिए । तर, अहिले पुरानो सहमतिअनुसार प्रक्रिया पुरा गरेर सेयर निष्कासन गरेपछि गत्लाङ क्षेत्रका स्थानीयले असन्तुष्टि पोखिरहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस