डोटीमा २० वर्ष भन्दा कम उमेरका महिलाहरूको गर्भपतन बढ्दो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीमा २० वर्ष भन्दा कम उमेरका महिलाहरूको गर्भपतन बढ्दो


२६ श्रावण २०७९, बिहिबार


डोटी । डोटी जिल्लामा २० वर्ष भन्दा कम उमेर भएका महिलाहरू गर्भपतन गराउनेको संख्या गत वर्षको तुलनामा यस वर्ष वृद्ध भएको पाइएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार गर्भपतन गराउनेको संख्यामा तुलनात्मक रूपमा वृद्धि भएको देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३१ जनाले गर्भपतन गराएका थिए । जसमा २० वर्ष भन्दा कम उमेरका ४९ जना रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १ हजार १ सय १० जनाले गर्भपतन गराएका छन् । जसमा २० वर्ष भन्दा कम उमेरका ३५ जना रहेका थिए, भने आर्थिक वर्ष २०७८/०७९ मा ९ सय २६ जनाले गर्भपतन गराएको देखिन्छ । जसमा २० वर्ष भन्दा कम उमेरका ४० जना रहेका छन् ।

नेपाल सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्था र सूचीकृत स्वास्थ्यकर्मी कहाँ आएर सुरक्षित रूपमा गर्भपतन गराउनेको संख्यामा वृद्धि हुनुका साथै असुरक्षित रूपमा गर्भपतन गराउनेको संख्यामा पनि कमी देखिदैन् ।

महिलाहरू अझै पनि असुरक्षित रूपमा गर्भपतन गराई शारीरिक समस्या पश्चात् मात्र स्वास्थ्य संस्थामा आउने गरेको तथ्याङ्कमा बताइएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६।०७७ मा १ सय ४२ जना, आर्थिक वर्ष २०७७/ ०७८ मा २ सय २३ जना र आर्थिक वर्ष २०७८ /०७९ मा १ सय ७२ जना महिलाहरू औषधी सेवनबाट गर्भपतन गराई स्वास्थ्य समस्या पश्चात् मात्र अस्पतालमा आएको तथ्याङ्कमा देखिन्छ ।

२० वर्ष भन्दा कम उमेरका महिलाहरुले गर्भपतन गराउने दर घटाउनको लागि किशोर किशोरीहरूलाई परिवार नियोजनका साधनहरूको बारेमा पूर्ण रूपमा जानकारी गराउन आवश्यक रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डील्लीरमण जोशी बत्ताउँछन् । उनले भने, ‘डोटीमा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु र किशोर किशोरीहरूलाई परिवार नियोजनका साधनको बारेमा जानकारी नहुँदा २० वर्ष भन्दा कम उमेरका महिलाहरूले गर्भपतन गराएको देखिन्छ ।’

अधिकांश महिलाहरूले सूचिकृत स्वास्थ्य संस्थामा नगई औषधी पसलबाट औषधी किनेर खाने गरेकोले स्वास्थ्य समस्या देखिने गरेको समेत प्रमुख जोशीले बताए । गर्भपतन गराउनु नै पर्ने अवस्था आएमा सूचीकृत स्वास्थ्य संस्था र सूचीकृत स्वास्थ्य कर्मी भएको स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित रूपमा गर्भपतन गराउन समेत प्रमुख जोशी आग्रह गरे । २० वर्ष भन्दा कम उमेरका महिलाहरूले गराएको गर्भपतनमा अधिकांश विवाहित महिलाहरू नै छन् ।

असुरक्षित रूपमा गरिने गर्भपतनबाट जोगिन महिलाहरूमा जनचेतना हुन आवश्यक रहेको सुरक्षित गर्भपतनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास मञ्चकी कार्यक्रम अधिकृत मधु पोखरेलले बताइन् । सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना अन्तर्गत संस्थाले सुरक्षित गर्भपतनका लागि चेतना मूलक कार्यक्रम र स्वास्थ्य संस्थाहरूलाई सहयोग गर्दै आइरहेको समेत उनले बताइन् ।

‘कताबाट औषधी किनेर खान्छन् हामीलाई थाहा हुँदैन, जब समस्या आउँछ त्यसपछि आत्तिँदै अस्पताल पुग्छन्’ जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन श्रेष्ठ भन्छन् ‘कतिले अवधि ढाटेर औषधी खानाले समस्या आउँछ ।’ गर्भ रहेको ४५ दिन नपुगी औषधी खाएमा र १० हप्ताभन्दा बढी भइसकेपछि औषधी खाएमा जटिल स्वास्थ्य समस्या आउने गरेको डा. श्रेष्ठले बताए ।

स्वास्थ्य संस्थामा आएर गर्भपतन गराउनेहरूको संख्या मात्र सूचीकृत हुने हुँदा असुरक्षित रूपमा गर्भपतन गराउनेको संख्या बाहिर आउन नसकेको सहज अनुमान गर्न सकिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ उपदफा १ बमोजिम कुनै पनि व्यक्तिले विवाह गर्नका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर पनि डोटीमा २० वर्ष भन्दा कम उमेरका महिलाहरूले गर्भपतन गराउने संख्या भने वर्षेनी देखिन थालेको छ ।

डोटी जिल्लामा औषधीको सेवन गराएर २६ स्वास्थ्य संस्थाबाट र उपकरणको प्रयोग गरी जिल्ला अस्पतालबाट गर्भपतन सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस