सर्लाहीका साहुकार परदेशीविरुद्ध चार करोड बिगो दाबीसहित मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीका साहुकार परदेशीविरुद्ध चार करोड बिगो दाबीसहित मुद्दा


प्रशासन संवाददाता

२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सर्लाहीका खुँखार मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । 

सोझा गाउँलेलाई ऋण लगाएर महँगो ब्याज असुल्ने साह र पत्नी मञ्जु देवीसमेतलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । 

२० साउनमा दर्ता भएको मुद्दामा साहविरुद्ध तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ र पत्नी मञ्जुविरुद्ध ६५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ गरी कुल तीन करोड ८६ लाख ५८ हजार बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण कानुनअनुसार बिगोको दोब्बर जरिवानासमेत माग दाबी विभागले गरेको छ । 

साहले गाउँका विपन्नलाई आफू, पत्नी, छोरा–बुहारी, छोरी–ज्वाइँका नाममा ऋण लगानी गर्ने, त्यसको चक्रवर्ती ब्याज असुल गर्ने गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । 

साहले एउटै ऋणमा ऋणीका आफन्त, नातागोतासमेतलाई झुक्याएर किर्ते तमसुक गराउने, ऋण लिएभन्दा पाँच गुणासम्म बढाएर कागजपत्र बनाउने, तिरेको ऋणको निस्सा नदिएर ऋण कायम गर्नेजस्ता ठगी गरेको विभागले जनाएको छ । उनीविरुद्ध विभागले २५ पृष्ठको अभियोग अदालतमा पेस गरेको छ । 

साहविरुद्ध सर्लाही प्रहरीले यसअघि नै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा चलाइसकेको छ । त्यसमा सम्पत्ति शुद्धीकरणसमेत गरेको देखिएपछि प्रहरीले उक्त कसुरमाथि अनुसन्धान गर्न विभागलाई सूचना प्रवाह गरेको थियो । 

उजुरीउपर साहमाथि विभागले दुई वर्ष लामो छानबिन र अनुसन्धान गरेको छ । साह भने ठगी मुद्दामा अहिले पनि जेलमा छन् । सोझा जनतालाई ऋणको पासोमा पार्ने उनी अब कसुर प्रमाणित भए सम्पत्ति शुद्धीकरणको कडा कानुनअनुसार अरू अधिकतम १० वर्ष जेल बस्नुपर्नेछ । 

विभागले अदालतमा दर्ता गरेको अभियोगपत्र अनुसार साहले गाउँका ४८ जनालाई एक करोड एक लाख ९२ हजार ऋण लगानी गरेका थिए । उक्त रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ गरी एक करोड ५३ लाख ३१ हजार अतिरिक्त आर्जन गरेको आरोपपत्रमा उल्लेख छ । 

ऋण लगानी र त्यसबाट गरेको ठगीसमेत जोड्दा आउने दुई करोड ५५ लाख २३ हजार तथा त्यसैबाट जोडेका अन्य चल-अचल सम्पत्तिसमेतको कुल तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ साहले सम्पत्ति शुद्धीकरण गरेको विभागको ठहर छ । यही रकमलाई बिगो कायम गरेर विभागले साहविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को व्यवस्थाबमोजिम मुद्दा दायर गरेको हो । 

पत्नी मञ्जुको हकमा भने उनको नामको घरजग्गातर्फ लगानी मूल्याङ्कन र बैङ्कको मौज्दातसमेत गरी ६५ लाख ६५ हजार तीन सय ५५ बिगो कायम गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस