पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालक समिति बैठकले १ जनवरी २०२३ देखि विमानस्थल सञ्चालन गर्ने मिति तोकेको हो ।

करिब पाँच महिनापछि विमानस्थल सञ्चालन गर्ने निर्णय गरे पनि जहाज उडान-अवतरणमा जोखिमपूर्ण मानिने रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट हटाउने काम भने अझै सुरु भएको छैन ।

डाँडो कटान र ल्यान्डफिल साइट नहटाउँदासम्म उडान–अवतरण गर्न जोखिमपूर्ण रहेको क्यानकै प्राविधिक टोलीको अध्ययनले देखाएको छ । 

त्यस्तै, विमानस्थल सञ्चालनमा आउने टुङ्गो भइसक्दा पनि पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट व्यवस्थापन गर्न सकेको छैन । विमानस्थलछेवैमा ल्यान्डफिल साइट रहेका कारण चराचुरुङ्गी र जनावरहरू आइरहने भएकाले जहाज उडान–अवतरणमा जोखिमपूर्ण हुने देखिन्छ । छिटोभन्दा छिटो सम्पूर्ण कामहरू सकेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

वन तथा भू–संरक्षण विभागले रिट्ठेपानी डाँडाका जोखिमजन्य अवस्थामा रहेका रूख तथा पोलहरू हटाउन स्वीकृति दिइसकेको छ । यो विषयमा वन विभाग र क्यानबीच १४ असारमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । 

रिट्ठेपानी डाँडो कटान गर्न कानुनी बाटो खुले पनि सार्वजनिक खरिद प्रक्रियामार्फत अगाडि बढ्दा समय लाग्ने क्यानका उच्च अधिकारी बताउँछन् । त्यसो त बर्सातको समयमा डाँडो कटान पनि चुनौतीपूर्ण हुन्छ । सोही कारण डाँडो कटानको स्वीकृति पाएको एक महिना बितिसक्दा पनि क्यानले प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सकेको छैन । 

रिट्ठेपानी डाँडो एउटा चुच्चोबाट ४० मिटर र अर्को चुच्चोबाट साढे १२ मिटर कटान गर्नुपर्ने हुन्छ । डाँडो काटेपछि माटो व्यवस्थापन गर्नुपर्छ । तलपट्टि डाँडोलाई टेवा दिन बलियो पर्खाल बनाउनुपर्छ । सबै प्रक्रिया पूरा गरेर डाँडो कटान र व्यवस्थापन गर्न कम्तीमा पनि सात–आठ महिना लाग्ने क्यानकै उच्च अधिकारी बताउँछन् । 

अझै विमानस्थलमा नेभिगेसन (यन्त्र उपकरण जडान)को काम बाँकी नै छ । नियमित उडान सुरु गर्नुपूर्व क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । तर, त्यसका लागि भने डाँडो १४ मिटर मात्र काटे पुग्ने क्यानले जनाएको छ । विमानस्थल निर्माणमा करिब २२ करोड रुपैयाँ लगानी हुनेछ । चिनियाँ सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सुरु भएको विमानस्थल पोखरा क्षेत्रकै आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण ठानिएको छ । क्यानले अङ्ग्रेजी नयाँ वर्षसम्म पोखराको आकाशमा उड्ने साहसिक मनोरञ्जनात्मक खेल प्याराग्लाइडिङ अन्यत्र ठाउँ खोजेर सार्न पनि बताइसकेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस