कविता : चम्चा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कविता : चम्चा


२१ श्रावण २०७९, शनिबार


म चम्चा, हो म चम्चा
मेरो आकार सानो, बनावट पनि सानो
म झोलामा पनि अट्ने, गोजीमा पनि अट्ने
घरमा पनि चाहिने, होटेल , रेस्टुरेन्ट सबैतिर चाहिने
सबैलाई ठिक्क हुने, सबैको प्यारो म चम्चा

म हाकिमको भान्सालाई पनि ठिक्क ,
पियन लाई पनि ठिक्क
मलाइ प्रयोग गर्न सजिलो
धोएर फेरि प्रयोग गर्न सजिलो
दालमा पनि मिल्ने , भातमापनी मिल्ने
तरकारी र अचार सबैमा मिल्ने
म सबैको प्यारो चम्चा
हो म सबैको सजिलो चम्चा

मेरो आकार पो त सानो
तर म सङ्ग लुकेको शक्ति छ
म दाल र भात लाई एकैठाउ पारी
तरकारी लाई सजिलै अलग बनाइदिन सक्छु
भात र तरकारीलाई एकठाउ पारी
दाललाई अलग बनाइदिन सक्छु
मैले मिलाइदिन नि सक्छु
टुटाइदिन पनि सक्छु
खुसुक्क दालमा तरकारी मिसाइदिन सक्छु
भेजलाइ नन भेज बनाइ दिन सक्छु
नन भेज लाई भेज बनाइदिन सक्छु
आकारमा म सानो
तर म सबैको प्यारो चम्चा।

मलाई राम्रो सङ्ग थाहा छ
भान्साका डाडु पनियोहरुले मलाई रुचाउँदैन
सबै सङ्ग ठिक्क हुने
मेरो आकार रुचाउदैनन
मैले भान्सामा हालीमुहाली गरेको रुचाउदैनन
डाडु पनियोले मिहिनेत गरेर
ठिक्क पारेको भान्छामा
क्वाप्प गडेको रुचाउदैनन
मेरो नाममा गिरि थपी
चम्चागिरी भनिदिन्छन्
सबै सङ्ग ठिक्क ,
हाकिमको भान्सा देखि
पियनको भान्सा सम्म ठिक्क हुने
मेरो आकार रुचाउदैनन
तर पनि म चम्चा
सबैको प्यारो म चम्चा

अब मान्छेहरू बानी परिसके
भान्सेहरू बानी परिसके
म सबै सङ्ग ठिक्क परेको
पर बसेर कुरा काट्ने डाडुपनियोहरु
हेर्दाहेर्दै पछि परिसके
तर मलाई भान्साबाट हटाउन खोज्नेहरू
मेरो उपस्थितलाई डाहा गर्नेहरू
मलाइ आरोप लगाउँदै आउछ्न
म डाडु पनियोले मिहिनेत गरेको परिकारमा
उनीहरूको सल्लाह बिना
उनीहरूको जानकारी बिना
सबैको प्रिय बन्न खोजे रे
सबैलाई ठिक्क पार्दै हिड्ने
सबैको स्वाद चाख्दै हिँड्ने
मेरो यो स्वभावको घोर विरोध गर्दैछन
मेरो यो आकारको घोर विरोध गर्दैछ्न

अब सबै एकै स्वरमा भदैछ्न
अब भान्सा सुधार्नु पर्छ
दालभात, तरकारी र अचारमा
चम्चाको प्रयोग हटाउनु पर्छ
मिहिनेत गर्ने डाडुपनियोलाइ
भान्सा चलाउन दिनु पर्छ
कमजोर धरातलमा बनेको चम्चालाई
उसको आकार अनुसारको काम दिनुपर्छ
अनि मात्रै भान्सा चलाउने
डाडुपनियोहरु खुसी हुनेछन्
भान्सा बल्ल भान्साजस्तो हुनेछ
भन्दैछ्न चम्चादेखि सावधान
भन्दैछ्न चम्चा देखि सावधान ।

Tags :
प्रतिक्रिया दिनुहोस