काठमाडौँ । प्रजातन्त्र सेनानी गोपालदास वादेको निधन भएको छ।
९७ वर्षीय वादेको आज बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री एवं उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिए।
पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए। तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए। वादेलाई ‘गान्धीवादी नेता’का रूपमा चिनिने गरिन्थ्यो ।
वादेको घर तत्कालीन अवस्थामा काँग्रेसका संस्थापक विपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतको समेत आश्रय स्थल रहेको बताइन्छ। स्व. वादेका दुई छोरा र दुई छोरी छन्।