गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा 


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार एक सय २७ वटा उद्योगबाट उत्पादित नमुना परीक्षण गर्दा दुई सय २४ वटा नमुना खान नमिल्ने पाइएको जनाउँदै यीमध्ये एक सय १५ वटा उद्योगलाई मुद्दा नै दायर गरिएको जानकारी दिएको छ । 

जसमध्ये खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा, दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आएका १९ वटा, दाना उत्पादन गर्ने १८ वटा, पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै चिया÷कफी उत्पादन गर्ने ८, फलफूल तथा सागपात सम्बन्धी ७ वटा, मसला उत्पादन गर्ने ५ वटा, गुलियो पदार्थ उत्पादन गर्ने ३, तेल तथा घ्यूजन्यको २ वटा, सोयासस उत्पादन गर्ने एक र अन्य ८ वटा उद्योग गरी  ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । 

विभागले गरेको बजार अनुगमनका क्रममा एक वर्षमा १४ दशमलव ५ प्रतिशत होटेल/रेस्टुरेन्टले गुणस्तरहीन सेवा दिएको भेटिएको छ । विभागले गत वर्ष ६ सय ३६ वटा होटेल र रेस्टुरेन्टको स्तरीकरण परीक्षण गरेकोमा सेवाका आधारमा गरिएको स्तरीकरणका क्रममा साढे १४ प्रतिशत अर्थात् ९२ वटा होटेल र रेस्टुरेन्टले दिने सेवा गुणस्तरहीन रहेको पाइएको हो ।

यस्तै, १७ वटा अर्थात् दुई दशमलव ७ प्रतिशतले अति उत्तम सेवा दिँदै आएको पाइएको छ भने एक सय तीन वटा अर्थात् १६ दशमलव २ प्रतिशत होटेल रेस्टुरेन्टले उत्तम, दुई सय ३८ अर्थात् ३७ दशमलव ४ वटा होटेल रेस्टुरेन्टले सन्तोषजनक सेवा दिइरहेको पाइएको विभागले जनाएको छ । यसबाहेक एक सय ८६ वटा होटेल रेस्टुरेन्ट अर्थात् २९ दशमलव ३ प्रतिशतले सामान्य किसिमको गुणस्तरसहित सेवा दिइरहेको विभागको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस