काठमाडौँ । चीनको युनान वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।
नेपाल चीन दैत्य सम्बन्ध स्थापनाको ६७ औँ वर्षका अवसरमा भेटमा पोखरा र युनानको कुन्मिङ सहरबीच भविष्यमा कसरी हातेमालो गरेर अगाडी बढ्न सकिन्छ भन्नेमा छलफल भएको थियो ।
लिङचेन हु नेतृत्वको ५ सदस्यीय प्रतिनिधि मण्डलसँग भगिनी सम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती सहरहरूको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए ।
थिम पार्कको निर्माणले पोखरामा चिनियाँ पर्यटकहरूको आकर्षण बढ्ने विश्वास प्रमुख आचार्यको छ । थिम पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कहरूको अध्ययन गरिरहेको छ ।
लिङचेन हु नेतृत्वको चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामाग्रीहरू पोखरालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।
सो क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनी सम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमा समेत छलफल भएको प्रमुख आचार्यले बताए। यस विषयमा लिङचेन हु नेतृत्वको चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ ।