तुलसीपुर हवाई इन्धन डिपोको गेटमा तालाबन्दी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तुलसीपुर हवाई इन्धन डिपोको गेटमा तालाबन्दी


१५ श्रावण २०७९, आइतबार


दाङ । तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी भएको छ ।

दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले आज (आइतबार) संयुक्त रूपमा ताला लगाएका हुन् ।

जहाजमा तेल भर्न जेठ १२ गते ११ हजार लिटर क्षमताको बाउजर ल्याइएको थियो । इन्धन भर्न प्रयोग हुने बाउजर अझै सञ्चालनमा आइसकेको छैन ।

लामो प्रयासपछि मात्र नियमित सञ्चालनमा आएको विमानस्थललाई बन्द गराउने षड्यन्त्रस्वरूप बाउजर लैजान थालिएपछि ताला लगाउनुपरेको उपप्रमुख चौधरीले बताइन् ।

नेपाल आयल निगम तुलसीपुरमा ध्यानाकर्षण पत्र बुझाई बाउजर नलैजान सचेत पनि गराइएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चालिसेले बताए ।

ध्यानाकर्षण पत्रमा बाउजरलाई यथावत राख्न अनुरोध गर्दै मागको बेवास्ता गरे सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिइएको उनले जानकारी दिए ।

तुलसीपुर डिपोमार्फत नेपाल आयल निगम केन्द्रीय कार्यालय काठमाडौँ, क्षेत्रीय कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घलाई समेत पत्र पठाइएको चालिसेले बताए ।

टरिगाउँ विमानस्थलमा हालसम्म नेपाल वायु सेवा निगमको जहाज मात्रै चल्दै आएको छ । इन्धन डिपो नभएकै कारण अन्य जहाजहरु सञ्चालन हुन सकिरहेका छैनन् ।

आयल निगमबाट बाउजर काठमाडौँ पठाएर अर्को ल्याउने आश्वासन पाएको आयल निगम तुलसीपुर डिपो प्रमुख विपिन श्रेष्ठले बताए । अहिले स्थानीयले बाउजर लैजान नपाइने माग गरेपछि उक्त जानकारी केन्द्रमा गराएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस