चिनी मिलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

चिनी मिलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज (आइतबार) सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

सम्बन्धित मजदुर, उखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

‘नेपाल सरकार उद्योग मन्त्रालयलाई समितिको आजको बैठकले चिनी मिलको समस्याको सम्बन्धमा सम्बन्धित मजदुर, किसान र चिनी मिलका प्रतिनिधि समेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक छलफल गरी यो समस्या समाधान गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्दछौँ,’ उनले भने ।

बैठकमा समितिका सदस्यहरुले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई दबाब दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सरिताकुमारी गिरीले चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाइन् । उनले उखुको मूल्य निर्धारण गर्दा सरकारले किसानको प्रतिनिधित्व नगराएकोमा पनि आपत्ति जनाइन् ।

समितिका अर्का सदस्य लालप्रसाद साँवा लिम्बूले पनि चिनी मिल बन्द हुन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस