चन्द्रागिरि नगरपालिकाले ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चन्द्रागिरि नगरपालिकाले ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । 

सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका  तथा विपन्नलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले भने, “यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी  मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौँ । सबै वडाका स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकलाई घरमै सेवा पुर्‍याउने छन् ।” 

स्वास्थ्य सेवा दिवसका उपलक्ष्यमा नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा उनले यसै वर्षदेखि चन्द्रागिरि-४ थानकोट प्राथमिक अस्पतालमा ‘डायलिसिस सेवा’ सुरुआत गरिन लागेको जानकारी दिए । 

पन्ध्र शय्याको सो अस्पतालले प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहित सेवा प्रदान गरिराखेको छ । साथै अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा फरक क्षमता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ ।

‘डायलिसिस सेवा’ले मिर्गौलाका बिरामीलाई थप सहज हुने उनले बताए । नगर प्रमुख गिरीले भने “स्वास्थ्यकर्मीको पारिश्रमिकमा एकरूपताका लागि यसै आर्थिक वर्षदेखि प्रक्रिया अगाडि बढाइने छ । ”

कार्यक्रममा  वडा नम्बर १५ का वडाध्यक्ष एवं सामाजिक समितिका संयोजक घनश्याम लुइँटेलले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस