शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएका हुन् ।

सांसद नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिए ।

सांसद पार्वतीकुमारी विसुङ्खेले सरकारले इसिडिका सहजकर्ताले तोकिएको तलब नपाएकाले त्यसमा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद डा. डिला सङ्ग्रौलाले गुणस्तरीय नर्सिङ सेवामा सम्झौता नहुने गरी नर्सिङ अध्ययनको वातावरण बनाउन माग गरिन् ।

सांसद दुर्गाबहादुर राउतले शिक्षामा परिवर्तन नहुँदासम्म अरु परिवर्तन अवरोध हुने भन्दै शिक्षामा विभेदिकरण रोकिनुपर्नेमा जोड दिए ।

सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्गमा बजेट नै नपर्ने र परेको बजेट कार्यान्वयन नभएको भन्दै काम नगर्ने व्यवसायीलाई कारबाहीको माग गरे ।

सांसद दिलकुमारीले लोक सेवाले मधेसका लागि जनशक्ति माग नगर्दा स्थानीय तहमा करारमा कर्मचारी रहेकाले भर्ना प्रक्रिया अघि बढाउन माग गरिन् ।

सांसद दिव्यमणि राजभण्डारीले यो अधिवेशनमा महत्त्वपूर्ण विधेयक पास भए पनि राष्ट्रियसभामा उत्पत्ति भएका महत्त्वपूर्ण विधेयक रोकिनुको कारणबारे जिज्ञासा राखे ।

सांसद नरबहादुर धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण घरबारविहीन स्थानीयवासीको समस्या समाधानका लागि धेरै कार्यदल बने पनि समाधान नभएकाले नागरिकले दुःख पाइरहेको बताए ।

सांसद नरमाया ढकालले प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दा पनि निर्वाचित सांसद रेसमलाल चौधरी जेलमा रहेको भन्दै दोषीलाई कारबाही गरेर निर्दोषलाई न्यायको माग गरे ।

सांसद निरुदेवी पालले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले कठघरामा ल्याउनुपर्ने र महिला हिंसाका घटनामा गम्भीर हुनुपर्ने बताइन् ।

सांसद नवराज सिलवालले ललितपुरको माल्टामा ५० वर्षका लागि पुग्ने सिमेन्टको निर्माण सामग्री रहेकामा निजी कम्पनीले सस्तोमा जग्गामा लिएर काम नगरेकाले सरकारले त्यो स्वामित्व लिनुपर्ने औँल्याइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस