एसइईको नतिजा छानबिन हुनुपर्छ : प्रकाश पन्थ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एसइईको नतिजा छानबिन हुनुपर्छ : प्रकाश पन्थ


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले एसइईको नतिजा छानबिन गर्नुपर्ने बताएका छन् ।

आज (बिहीबार) राष्ट्रिय सभा बैठकको शून्य समयमा पन्थले विद्यालयले मूल्याङ्कन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्याङ्कन गर्दा ४२ जना मात्रै हुनुले पनि नतिजा विश्वसनीय नभएको बताएका हुन् ।

बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक भन्ने प्रश्न उठेको उनले बताए ।

उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययनबाहेक के अवसर दिन्छ भनेर प्रश्न गरे ।

‘विद्यालयले मूल्याङ्कन गर्न जिपिए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ? कहाँ, किन र कसरी यो फरक परेको हो ? ४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठिक हो कि, विद्यालय ठिक हो कि, बोर्ड ठिक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस्’, उनले भने ।

कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले कस्ता अवसर दिन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि ? सीप, तालिम, प्रविधि के छ रु शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसपालिको एसइईको नतिजा विगत पाँच वर्षयताकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै जिपिए ४ मा ४ ल्याएका छन्, जुन संख्या कोरोना महामारीअघि (२०७४ र २०७५) को भन्दा पनि कम हो । समान परीक्षा किसिम र मूल्याङ्कनको ग्रेडिङ पद्धति हुँदा २०७४ मा ७४ जना र २०७५ मा १ सय ६ जनाले जिपिए ४ ल्याएका थिए ।

कोरोना महामारीका बेला विद्यालयले नै मूल्याङ्कन गरेकाले एसइईमा जिपिए ४ प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपमा धेरै थियो । २०७७ मा ८ हजार ४ सय ४४ जना र २०७६ मा ९ हजार ३ सय १९ जनाले जिपिए ४ ल्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस